एमसीसीले नेपाललाई छ अर्ब ८० करोड रुपियाँ अनुदान सहायता रकम थप गर्ने
काठमाडौँ, २१ पुस । अमेरिकी अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाललाई छ अर्ब ८० करोड रुपियाँ अनुदान सहायता रकम थप गर्ने भएको छ । एमसिसीको सञ्चालक समितिले एमसिसी नेपाल कम्प्याक्टका लागि सो बराबरको अनुदान सहायता थप गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले निर्णय सार्वजनिक गर्दै नेपाल सरकार र अमेरिकी सहायता एमसिसीबिचको साझा प्रतिबद्धतालाई जोड दिँदै नेपालको विकासमा रूपान्तरणकारी र उच्च गुणस्तरीय पूर्वाधार निर्माण परियोजनामार्फत सरकारको विकास प्राथमिकतालाई सघाउने विश्वास व्यक्त गरेको छ ।
एमसिसी सम्झौता कार्यान्वयन निकायका उपाध्यक्ष क्यामरन अल्फोर्डले थपिएको अतिरिक्त सहायता रकमले नेपालको विद्युतीय प्रसारण ग्रिडको सुदृढीकरणसँगै दीर्घकालीन आर्थिक वृद्धिलाई सुनिश्चित गर्न सघाउ पुग्ने उल्लेख गरेका छन् ।
साथै नेपालको विकासमा दुई देशबिचको सहकार्य र समर्पणलाई थप पुष्टि गर्ने पनि उनले प्रस्ट पारे ।
अमेरिकी सहायता अनुदान र नेपाल सरकारको लागत साझेदारीमा एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन हुँदै गत २०८० साल भदौ १३ गतेदेखि कार्यान्वयनमा गएको हो । कुल ९२ अर्ब बराबरको एमसीसी अन्तर्गतका आयोजनालाई सबल बनाउने उद्देश्यसहित रकम थप गरिएको समितिले प्रस्ट पारेको छ ।
यस परियोजना अन्तर्गत चार सय केभी डबलसर्किटको ३१५ किलोमिटर लामो प्रसारण लाइन बन्ने व्रmममा रहेको छ । जस अनुसार काठमाडौँको लप्सीफेदी, नुवाकोटको रातमाटेमा सबस्टेसनसहित मकवानपुर, धादिङ, तनहुँ, चितवन, नवलपरसी हुँदै भारतको महेसपुरसम्मको प्रसारण लाइन बन्ने तय भएको छ । जसबाट नेपाल, भारत तथा बङ्गलादेशबिच त्रिदेशीय विद्युत् आयात निर्यातको बाटो सहज हुने जनाइएको छ ।
एमसीसी अमेरिकी सरकारको सन् २००४ मा स्थापित विकास एजेन्सी हो । जसले आर्थिक वृद्धिमा विश्वका विभिन्न मुलुकलाई सघाउँदै गरिबी न्यूनीकरण गर्न मद्दत गर्ने उद्देश्य राखेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया