मधेश प्रदेशका जिल्लामा शीतलहर, जनजीवन कष्टकर
जनकपुर, २२ पुस । मधेश प्रदेशका जिल्लामा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चल्दा चिसोबाट जोगिन स्थानीय बासिन्दाले दाउराको माग गर्न थालेका छन् ।
पर्सा समाचारदाता कन्हैयालाल केशरीका अनुसार विगत एक सातादेखि बाक्लो हुस्सु र चिसो सिरेटो चल्दा यहाँको जनजीवन कष्टकर हुँदै गएको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गरी जीवनयापन गर्नेहरू बढी प्रभावित भएका छन् । घाम नलाग्दा दैनिक ज्यालादारीको भरमा जीवनयापन गर्ने मजदुर तथा रिक्सा तथा ठेला चालक ज्यामी, डकर्मी बढी प्रभावित भएका छन् ।
नारायणी अस्पतालका चिकित्सक डा। उदयनाराण सिंहले चिसो बढेपछि बिरामीको चाप पनि बढेको बताए । उनले विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी बढी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउने झोलिलो खानेकुरा बढी खाने तथा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिसक्न सर्वसाधारणसंँग आग्रह गरेका छन् ।
चिसो बढेपछि सरकारी, वित्तीय संस्थामा सेवाग्राहीको भिड पातलिँदै गएको छ । वीरगन्जको बजारमा भिडभाड देखिएको छैन । ग्राहकको भिड विशेष गरी न्यानो लुगा तथा हिटर खरिद गर्न बिजुलीका पसलमा देखिएको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरवासीको सुझाव अनुसार चिसोबाट जोगिन चोक चोकमा आगो बाल्न दाउराको व्यवस्था गरिएको जानकारी दिए । उनले मौसमको अनुकूलता हेरी जाडो बढ्दै गएपछि विद्यालय तथा कलेज पनि केही दिनका लागि बिदा दिन सकिने बताएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा उडान पनि प्रभावित भएको छ । सिमरा विमान स्थलबाट हुने नियमित उडान प्रभावित भएको सिमरा उड्डयन कार्यालयले जनाएको छ ।
दाउराको माग
गौर समाचारदाता सञ्जयकुमार मिश्रका अनुसार शीतलहरसँंगै बढेको अत्यधिक चिसोबाट बच्नका लागि आगो ताप्न दाउराको व्यवस्था हुनुपर्ने माग स्थानीयले राखेका छन् । बढ्दै गएको चिसोबाट नगरवासीलाई राहत दिलाउन स्थानीय तहलगायत सम्बन्धित निकायले दाउराको व्यवस्था नगर्दा सर्वसाधारणलाई समस्यामा खेप्नु परेको हो । आगो ताप्न दाउराको व्यवस्था नहुनाले नगर क्षेत्रभित्र रहेका व्यवसायीहरू कागज तथा गुइँठा बालेर जसोतसो ताप्नु परेको बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा आगो ताप्न दाउराको व्यवस्था मिलाइदिन स्थानीय निकायले पहल गर्नुपर्ने समाजसेवी आत्माराम ठाकुरले बताए । दिनानुदिन बढ्दै गएको जाडोबाट राहत दिलाउन नगरपालिकाले नगरको विभिन्न ठाउँमा आगो बाल्न दाउराको व्यवस्था गर्नुपर्ने तथा जिल्लाको प्रत्येक स्थानीय निकायलगायत सम्बन्धित निकायले आगो ताप्न दाउराको व्यवस्था गर्नुपर्ने स्थानीय पनिलाल महतोले बताए ।
चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ भने जाडोबाट बच्न न्यानो तथा उनी कपडा बिक्री गर्ने यहाँस्थित पसलमा ग्राहकको भिड लाग्न थालेको छ । विशेष गरी सिरक, डसना बनाउने कालिगड पनि अत्यधिक कामको चापले व्यस्त रहेका छन् । जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्विटर, हाइनेक, जुत्ता, टाउजर, कम्बललगायतका सामान बिक्री गर्ने पसलमा नेपाली तथा सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकको भिड बढेको व्यवसायीले बताएका छन् ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया