हेलिकप्टर कम्पनीहरूले खुम्बु क्षेत्रमा आज पनि उडान गरेनन्
काठमाडौं । हेलिकप्टर कम्पनीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आज पनि उडान गरेका छैनन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णय फिर्ता लिएर हेलिकप्टर चलाउन सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको भए पनि खुम्बुपासाङल्हामु गाउँपालिकाले निर्णय नगरेका कारण कम्पनीहरूले उडान नगरेका हुन् ।
यसअघि निकुञ्ज र गाउँपालिकाले छुटाछुटै निर्णय गरेर खुम्बु क्षेत्रमा व्यावसायिक चार्टर्ड उडान गर्न रोक लगाएका थिए । त्यसको विरोधमा कम्पनीहरूले उद्धार उडानसमेत रोकेका छन् ।
हेलिकप्टर उडानको बारेमा निर्णय गर्न गाउँकार्यपालिकाको बैठक बसिरहेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिए । जथाभाबी हेलिकप्टर उडान गर्दा पर्यावरणीय समस्यासँगै जनजीवन नै प्रभावित भएको खुम्बु क्षेत्रका बासिन्दाको गुनासो छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया