रायोको साग खानुहुन्छ, सावधान !
काठमाडौं । काठमाडौं उपत्यकाभित्र उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काठमाडौं र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
मंगलबार भक्तपुरमा उत्पादित कालिमाटी तरकारी बजारस्थित कृष्णमाया तामाङको ६२४ नम्बरको पसलमा बिक्रीका लागि राखिएको रायोको सागमा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको छ । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीमा मात्रा भेटिएको छ ।
यसैगरी कालीमाटीकै ६५३ नम्बरको पसलमा श्रीराम आचार्यले बिक्रीका लागि राखेको काठमाडौंमै उत्पादित रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको छ ।
यसअघि सोमबार पनि भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजार पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया