जागिर छाड्नु अघि दिइएको पीडा
ईश्वरी दाहाल
पाठकवृन्द मैंले यसअघि नै उल्लेख गरिसकेको छु कि बाँसबारी छाला तथा जुत्ता कारखानाले नै दिएको सहुलियत अनुसार लुम्बिनी अञ्चलभित्रका गुल्मीको तम्घास, पाल्पा, बुटवल, भैरहवा र अरु थोरबहुत स्थानका डिलरहरुलाई जुत्ता उधारो दिएको थिएँ । त्यसो नगरिए भारतीय जुत्तासँग प्रतिस्पर्धा गर्न संभव नै थिएन ।
तर, मलाई जनकपुर सरुवा गरिए लगत्तै काठमाडौंबाट कारखानाले जुत्ता किन उधारो दिएको भनेर स्पष्टीकरण सोध्यो । म काठमाडौं आएँ र कारखानाले नै दिएको पत्र त देखाएँ, उधारो उठाएर बुझाएँ । तर, कारखानाले नै दिएको पत्र देखाउँदा, उधारो उठाएर बुझाउँदा पनि मलाई निलम्बन गरियो । खाइपाई आएको तलबको आधा मात्र पाउने गरी घटुवा गरेर निलम्बन गरिएको थियो । घटुवा हुँदा पनि मेरो तलब मासिक चार सय ९५ रुपियाँ आउँथ्यो ।
निलम्बन गरिए लगत्तै प्रहरी प्रशासन लगाएर ‘नौलो राँको’ पत्रिकाको संस्थापक होस् भनेर गिरफ्तार समेत गरियो । पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौंबाट अड्डासार गरी एसपी कार्यालय, वीरगञ्ज पु¥याइयो । प्रहरी उपरीक्षक (एसपी) अशोक श्रेष्ठले दुई जना जवानलाई मेरा गोडा फटाउने, गोलीगाँठामा कुट्ने, ठाडो खुट्टा लगाएर बाँसको कप्टेराले पैतालामा चुट्ने निर्देशन दिए ।
यो क्रम करिब एक घन्टासम्म चलाइयो । यातनाले चिटचिट पसिना छुट्यो । मैंले पानी मागें । एक जना जवानले पानी दिए । तर, निर्दयी श्रेष्ठले जवानका हातबाटै गिलास खोसे । पछि बुझ्दा चर्को यातना दिएर पसिना छुटेको बेला पानी पियो भने मुटु फुटेर मर्छ । अनि आफू जेल जानु पर्छ भनेर पानी दिन रोकेका रहेछन् ।
जति यातना दिए पनि उनीहरुले मबाट पञ्चायत बिरोधी सूचना वा गतिविधि केही पनि पाउन सकेनन् । फलतः १९ दिनपछि तारिखमा छाड्न बाध्य भए । वीरगञ्जबाट तारिखमा छुटेपछि म काठमाडौं गएँ । जब म काठमाडौं गएर बाँसबारी छाला तथा जुत्ता कारखानाभित्र पुगेँ, त्यहाँका बूढी आमाहरुले रुदैँ मलाई अँगालो मारे, ‘बाबु तिमीलाई त मा¥यो भन्थे ।’ मलाई पक्राउ गरेपछि कारखानाका मजदुरलगायत त्यस आसपासका स्थानीयलाई प्रहरीले सुनाएको रहेछ । उनीहरुलाई पनि त्यही आभास भएको रहेछ । डेरामा पुगेपछि पनि मलाई उसैगरी सहानुभूति देखाइयो ।
जागिरमा निलम्बनसहित घटुवा गरिसकेपछि त्यहाँ बसिरहने कुरा भएन । मैंले राजीनामा लेखेर दिएँ । मेरो हाकिम प्रकाशमानको भित्री गुह्य ईश्वरीले मसँग एक पटक भेटेर माफ मागोस् । तुरुन्तै निलम्बन फुकुवा पनि गरिदिन्छु । बढुवा गरेर यथावत जिम्मेवारी नै दिन्छु भन्ने रहेछ । उसका विश्वासपात्रहरुले मलाई त्यो कुरा सुनाए । जानुस्, हाकिमसँग माफी माग्नुहोस् भनेर सुझाए । मेरो कहीँ, कतै कुनै गल्ती नै थिएन । किन माफी माग्ने, किन झुक्ने ? मैले भनेँ ‘म दिन पुगेर जन्मिएको हुँ । तुहिएर संयोगबस् जन्मिएको होइन ।’
प्रकाशमानसँग माफी नमाग्ने आफ्नो अडानबाट म टसमस भइन । एकदिन बाँसबारी छाला जुत्ता कारखानामै कार्यरत सुखसागर श्रेष्ठ, सुरेन्द्रप्रसाद दाहाल र म काम विशेषले रत्नपार्कमा पुगेका थियौं । बाँसबारी छाला तथा जुत्ता कारखानातिर जाने गाडी छुटेछ । हामी रत्नपार्कबाट जमल हुँदै हिड्दै गयौं । त्यसबेला उहाँहरुले राजीनामा फिर्ता लेऊ । निलम्बन फिर्ता पनि हुन्छ, तुरुन्तै बढुवा भइहाल्छ भनेर सम्झाउनु भएको थियो । त्यो कुरा मैले स्वीकार गरिनँ ।
निलम्बन भएपछि म जन्मथलो सिन्धुली नांगेडाँडा फर्किए । जहाँ श्रीमती, बालबच्चा छँदै थिए । यता वीरगन्ज अञ्चल प्रशासनले तारेखमा छोडेको थियो । नांगेडाँडाबाट एक वर्षसम्म वीरगन्जमा तारिख धानिरहेँ । एक वर्षपछि मलाई वीरगञ्ज अञ्चल प्रसासनले सफाई दियो ।
एकवर्षपछि बाँसबारी छाला तथा जुत्ता कारखाना प्रशासनले निलम्बन फुकुवा गर्यो । तर, एक तह घटुवा कायमै राखेछ । प्रशासनका मानिसहरुले मलाई फेरि भने कि यो घटुवा केही समयका लागि मात्र हो । तपाईको बढुवा पनि हुन्छ, तलब पनि बढ्छ । तपाईं नोकरीमा आउनुहोस् । तर मैले मानिनँ । मेरो विद्रोही स्वभावले झुक्न स्वीकारेन ।
फेरि दोहो¥याएँ “म तुहेको मानिस हुँ र ! म दिन पुगेर जन्मेको मानिस हुँ ।” म पूर्वीया हुँ । यदि मेरो राजीनामा सदर भएन भने चार अम्मल काट्नु ख्यालख्याल हो भनेर कारखाना प्रशासनको गेटमा कुर्लिएँ । त्यसको एक महिनापछि बल्लतल्ल राजीनामा सदर भयो । यो २०३१ सालको कुरा हो । मैंले २०३१ सालमा बाँसबारी छाला तथा जुत्ता कारखानाको नोकरी छोडेकोमा केहीले भने बोकाको मुखमा कुभिण्डो नअटाएको, चितवनमा यज्ञ वल्लभ पन्तले भनेको कुरा मानेको भए मालामाल हुन्थिस्, त्यहीँ कुरा नमानेकोले अहिले जागिर नै छाड्नु पर्यो भनेर खिसिटय्री गर्ने प्रयत्न समेत गरे ।
संस्थाको हाकिम भएर त्यही संस्था दोहन गर्ने पन्तहरुको अपराधिक नियतलाई मेरो ब्रम्ह्ले स्वीकार गरेन । कुरा काट्नेहरुले जे सुकै भनुन्, जतिसुकै दुःख दिउन्, त्यसले मलाई छोएन । ८२ को वयमा लम्किरहँदा मलाई आफूले त्यसबेला लिएको अडान संस्थाघात नगर्ने भएकोमा मस्तले निद्रा लाग्छ । यो नै मेरो स्वाभिमान र सम्पत्ति हो भन्नेमा आफूलाई गर्व गर्छु ।
राजीनामा स्वीकृत भएर घर फर्कदा मैंले १४ हजार रुपैयाँ पाउनु पर्ने थियो । तर, यो वा त्यो बहानामा यो मिल्दैन, त्यो मिल्दैन भनेर कानूनी झ्याउला देखाएर तीन हजार एक सय मात्र दिइयो । त्यसपछि मैले सदाका लागि बाँसबारी छाला तथा जुत्ता कारखाना छाँडिदिएँ । अनि एउटा अनिश्चयको गन्तव्य बोकर नागेडाँडास्थित घर फर्किएँ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया