Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

लहान शाखामा गरिएको विरोध प्रदर्शन गैरकानूनी तथा अवाञ्छित कार्य : कृषि विकास बैंक


काठमाडौं । कृषि विकास बैंकले बिहीवार एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकको शाखा कार्यालय, लहानका प्रवन्धकलगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवा अन्तर्गत रहेको बैंकिङ सेवा नै ठप्प हुने गरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बैंकमा तालावन्दी, ढुंगामुढा तथा हो–हल्ला गर्नुका साथै बैकिङ् सेवा बन्द गर्ने लगायतको कार्यप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यसरी सत्य–तथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको छ । यस खालका अमर्यादित एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशील स्थानमा भएको घटनाको सम्बन्धमा सत्यतथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइए अनुसार कृषि विकास बैंकको लहान शाखा कार्यालयबाट मिति २०७७/११/१५ देखि सरल कृषि कर्जा र व्यक्तिगत ओभर ड्राफ्ट शीर्षक अन्तर्गतको कर्जा उपभोग गर्न भएका कर्जा ग्राहक जिल्ला सिराहा, लहान नगरपालिका वडा नं. २ बस्ने रामचन्द्र यादवले बैंकलाई भुक्तानी गर्नुपर्ने सावाँ एवं ब्याज कर्जा सम्झौता बमोजिम तोकिएको समयमा भुक्तानी नगरी निर्धारित भाखा नाघेको र लामो समयसम्म पनि कर्जा भुक्तान नगरे पश्चात बैंकले पटक–पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरी ताकेता गरेको थियो ।

यसै सन्दर्भमा २०७१/१/२० मा २१ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको, उक्त समयावधिभित्र समेत कर्जा राफसाफ नगर्ने भएकोले बैंकको प्रचलित कर्जा असुली कार्यविधि तथा प्रचलित नियम बमोजिम कर्जा असुलीको थप प्रकृया स्वरुप धितो लिलामीको लागि पहिलो पटक मिति २०७९/१०/२३ गते, दोस्रो पटक मिति २०८०/०२/१७ गते र तेस्रो पटक मिति २०८०/०८/०४ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भाखा नाघेको कर्जाको सावाँ र व्याज तिर्न वारम्वार मौका दिएको अवस्थामा समेत भाखा नाघेको कर्जाको सावाँ र व्याज भुक्तानी गर्न चासो नदिई बसेको हुँदा नियमसम्मत चौथो पटक मिति २०८१/०६/०८ मा धितो लिलामी सूचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त शीलबन्दी बोलपत्र मध्येबाट आवश्यक प्रकृया पूरा गरी बोलपत्र स्वीकृत गर्नुका साथै शीलबन्दी बोलपत्र कवोल गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दा.खा. गरेको व्यहोरा जानकारी गराउँदछौं ।’

यसरी बैंकले विद्यमान कानूनी प्रक्रिया एवं प्रचलित बैंकिङ अभ्यासको पूर्ण अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमति जनाई ऋणी/धितो जमानत दाता समेतको संलग्नतामा मिति २०८१/०९/११ गते र मिति २०८१/०९/२३ गतेका दिन केही व्यक्तिहरुले यस बैकको लहान शाखाको प्राँगण आसपास तथा लहान बजारभरि भ्रम सिर्जना हुने गरी गलत प्रचार प्रसार, नाराबाजी गर्ने, हुलहुज्जत गर्ने सामाजिक सञ्जाल तथा अन्य संचार माध्यममा सत्य तथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम सिर्जना गर्ने तथा बैंकको नियमित कारोवार सञ्चालनमा बाधा पुग्ने गरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादित तरिकाले गालिगलौज र धाक–धम्की दिई बैंकको मुख्य गेटमा समेत पाल विच्छाई धर्नामा वसी बैंक सञ्चालनमा समेत बाधा पुर्याएकोमा आज पनि निज ऋणीसहितको अराजक भीड जम्मा भई यस बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुंगामुढा गर्ने तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गम्भीर आँच आउन सक्ने खालका गैरकानूनी तथा अवाञ्छित कार्य भएको छ । निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नुभन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ्ग सेवा अवरुद्ध गराउनेतर्फ उद्यत देखिएकोले यस्ता खालका गैर कानुनी, अवाञ्छित गतिविधिप्रति घोर भर्त्सना गर्दै आपत्तिसहित खेद प्रकट गर्दछौँ ।’


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट