खिम्ती दुई जलविद्युत आयोजनाको सुरुङ निमार्णको काम अन्तिम चरणमा
काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालु र दोलखाको जिरी नगरपालिकाको सिमानामा बहने खिम्ती खोलामा निमार्णाधिन खिम्ती–२ जलविद्युत आयोजनाको सुरुङ निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको लागि आवश्यक पर्ने ८ किलोमिटर लामो सुरुङ मार्गमध्ये दुई सय मिटर मात्र खन्ने काम बाँकी रहेको छ । सुरुङ मार्गको काम चाडै ब्रेक थ्रु अर्थात् छिचोल्ने गरी काम भइरहेको आयोजनाका सिभिलतर्फका हाई हिमालय हाईड्रो कम्पनीका कन्ट्रयाक्ट एण्ड विलिङ ईन्जिनियर क्रिपेश झाले जानकारी दिए ।
उनका अनुसार सुरुङ निर्माणको लागि विभिन्न पाँच वटा सव–सुरुङमार्ग निर्माणको काम सम्पन्न भइसकेका छन् ।
खिम्ती–२ जलविद्युत आयोजनाको सिभिल तर्फको काम सन् २०२० सम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको थियो । कम्पनीले हाल सुरुङका साथसाथै बाँध निर्माण स्थल र उत्पादन गृहको कामसमेत एकै साथ गर्दै आएको छ ।
त्यस्तै आयोजना स्थलमा भवनलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको सिभिल तर्फको काम सम्पन्न गर्न कुल तीन अर्ब ८९ करोड रुपैयाँको लागतमा सम्झौता भएको थियो ।
दोलखा र रामेछापको बीच भएर बग्ने खिम्तीखोलाको पानीलाई दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुको सिउरानीनजिक बाँध निर्माण गरी सुरुङमार्फत दोलखाको तामाकोसी गाउँपालिकामा पर्ने हावामा निर्माण हुने पावर हाउसमा खसालेर ४८ दशमलव दुई मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
विद्युत् उत्पादनका लागि तीन वटा टर्वाइन जडान गरिनेछन् । जडान भएका हरेक टर्वाइनबाट १६ मेघावाट विद्युत् उत्पादन गर्नेछन् । आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभी प्रशारण लाईनमार्फत रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गर्जाङमा निर्माण भएको सब–स्टेशनमा लगेर राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य रहेको छ ।
खिम्तीखोलाको पानीबाट यसअघि तीन वटा जलविद्युत् आयोजना निर्माण भई विद्युत उत्पादनसमेत भइसकेका छन् ।
जसमा नर्वेजियनको लगानीमा निर्माण भएको खिम्ती १ जलविद्युत् आयोजनाबाट ६० मेघावाट, हिमालय उर्जा कम्पनीबाट १२ र सात मेघावाटका अपर खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट यसअघि नै विद्युत उत्पादनभई दुवै आयोजना राष्ट्रिय प्रशारणलाइनमा जोडिइसकेका छन् ।
माथिल्लो खिम्ती र अपर खिम्ती दुई वर्षअघि मात्र राष्ट्रिय प्रशारणमा जोडिएका थिए । त्यसैगरी खिम्ती १ जलविद्युत आयोजनाबाट २७ बर्ष अघिदेखि उत्पादन शुरू भएको थियो । यो आयोजना दुई वर्षअघि नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व हुने गरी व्यवस्थापकिय काम हुँदै आएको छ ।
तत्कालिन अवस्थामा अमेरिकी डलरमा विद्युत खरिद गर्ने सम्झौता गरेका कारण खिम्ती १ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई महँगो पर्दै आएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया