Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त


काठमाडौं, २७ पुस । कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

विगत १४ वर्षदेखि कोटेश्वर क्याम्पसमा अध्यापन गराउँदै आएका पोखरेल विद्यावारिधिरत हुन् । नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) को प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले एक समारोहबिच क्याम्पसमा पदभार ग्रहण गरे ।

क्याम्पस व्यवस्थापन समिति सदस्य लेखनाथ घिमिरेका अनुसार व्यवस्थापन समितिले निवर्तमान क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीको विदाई र नवनियुक्त क्याम्पस प्रमुख पोखरेललाई स्वागत गरेको छ । कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख पोखरेललाई क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र कर्मचारीले बधाईसहित स्वागत गरेका छन् ।

निवर्तमान क्याम्पस प्रमुख कार्कीलाई विदाई गरिएको छ । पोखरेलले क्याम्पसको थप पूर्वाधार निर्माणका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नुका साथै गुणस्तरीय शिक्षामा जोड दिएर क्याम्पसलाई देशकै सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट क्याम्पसको रूपमा विकास गर्ने आफ्नो आगामी योजना रहेको बताए ।

विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो । प्लस टु, स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन हुने क्याम्पसमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यो क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विसं २०८० मा गुणस्तर प्रत्यायनकृत (क्युएए) समेत प्रदान गरिसकेको छ ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट