Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

इमेज सहकारीका सञ्चालकसँग मेलमिलाप : पीडितले २३ करोड ७५ लाख रुपैयाँ फिर्ता पाए


काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ । पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् ।

उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो । उनीहरुको ठगीएको रकम २३ करोड ७५ लाख रुपैयाँ रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकम घटेको छ ।

जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताए । नेपालीविरुद्धको ठगी मुद्दा भने यथावत रहनेछ । उनी अहिले पूर्पक्षका लागि जिल्ला कारागारमा छन् । गएको असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

एक हजार पाँच सय ७३ जनाले नेपालीसहित सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरेका थिए । मेयर नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । रेड कर्नर नोटिस जारी भएपछि देवकुमार नेपालीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर भएका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट