पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिताको निधन
काठमाडौं, २७ पुस । पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उनको शनिवार बिहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
विक्रम संवत् १९८१ साल असोज दसैँ टीकाको दिन अछामको रिडिकोट (हाल साफेबगर नगरपालिका ७)मा जन्मिएका शाह बूढानीलकण्ठमा छोराहरुसँग बस्दै आएका थिए ।
नेपाली कांग्रेसको एक यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी थिए । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए ।
बयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका थिए । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी छन् ।
उनका छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् भने अर्का छोरा राजेन्द्रबहादुर शाह उद्योगव्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव छन् । जेठो छोरा मोहनबहादुर शाह अवकाश प्राप्त राष्ट्रसेवक हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया