रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै हिरासतमा रहने
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि पूरा नभएको अदालतले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंमा हिजोदेखि बयान सकिएर थुनछेक बहस शुरू भएकोमा आज पनि सम्पन्न हुन सकेन । थुनछेक बहस नसकिएकाले लामिछानलाई आज पनि प्रहरीले हिरासतमा लगेको छ । भोलि सार्वजनिक बिदा भएकाले प्रहरीले अब पर्सि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका छन् । सरकारी वकिलले लामिछानेलाई थुनामुक्त गर्दा प्रमाण नष्ट हुने भएकाले थुनामै राख्ने आदेशको माग गरेका छन् भने लामिछानेका वकिलले जिल्ला अदालत पोखराले जस्तै लामिछानेलाई थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिन माग गरेका छन् । थुनछेक बहसको आदेश नआउञ्जेल लामिछाने हिरासतमै रहनेछन् ।
गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्द ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा भने जिल्ला अदालत कास्कीले गएको बिहीवार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया