हुम्लाका ८२ वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी
हुम्ला, २ माघ । हिमाली जिल्ला हुम्लाका सात वटा गाउँपालिकाका ८२ वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन् । भूगोल ठुलो र एक बस्तीबाट अर्को बस्तीमा पुग्न निकै समय लाग्ने भएका कारण बस्तीपिच्छे विद्यालय सञ्चालन गरिँदा यस्तो अवस्था आएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आलेमगरका अनुसार पछिल्लो विवरण अनुसार जिल्लामा सञ्चालनमा रहेका विद्यालयमध्ये ८२ वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन् । हुम्लामा १४५ सामुदायिक, एउटा धार्मिक र पाँच वटा संस्थागत गरी कुल १५१ वटा विद्यालय रहेका छन् । उहाँका अनुसार यसरी एक सयभन्दा कम विद्यार्थीले अध्ययन गर्दै आएका विद्यालयमा नाम्खामा १३, सिमकोटमा १०, खार्पुनाथमा नौ, सर्केगाडमा १८, चङ्खेली १७, अदानचुलीमा सात र ताँजाकोट गाउँपालिकामा आठ वटा विद्यालय रहेका छन् ।
गाउँपालिकाका अनुसार सङ्ख्यात्मक हिसाबले नाम्खामा १४, सिमकोटमा २५, खार्पुनाथमा १७, सर्केगाडमा ३३, चङ्खेलीमा २४, अदानचुलीमा २० र ताँजाकोट गाउँपालिकामा १७ वटा विद्यालय रहेका छन् । जिल्लामा रहेका ५४ प्रतिशत विद्यालयमा एक सयभन्दा कम विद्यार्थीले अध्ययन गर्दै आएको उनले बताए ।
न्यून विद्यार्थी सङ्ख्या रहेका विद्यालयमा अधिकांश बालविकासदेखि कक्षा ८ सम्म छन् । पछिल्लो समय गाउँपालिका केन्द्र, सदरमुकाम र जिल्लाबाहिर अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढेपछि दूरदराजका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कम हुँदै गएको पाइएको उनको भनाइ छ ।
यसबिचमा नाम्खा गाउँपालिकामा दुई र सिमकोट गाउँपालिकामा एउटा विद्यालय विद्यार्थी नै नभएपछि बन्द भइसकेका छन् । जिल्लामा कुल १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
यस्तै जिल्लाका सात वटा विद्यालयमा १३ जना विद्यार्थी मात्र पढ्ने गरेको एकाइ प्रमुख आलेमगरले बताउनुभयो । नाम्खा गाउँपालिकाका खुपानी आविमा चार जना, नमोबुद्ध आविमा छ जना सिमकोट गाउँपालिकाका महाकालमा १० जना, जनज्योतिमा १३ जना, सर्किदेउ आविमा ११ जना र सर्केगाड गाउँपालिकाको जनप्रेमी आविमा १२ जना विद्यार्थी मात्र पढ्दै आएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया