Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने टिकटकको तयारी


भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । सङ्घीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकामा टिकटक निकै लोकप्रिय छ । अहिले अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् । ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित गर्न कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेका द वाशिङ्टन पोस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । टिकटकमाथि प्रयोगकर्ताको डाटाको दुरुपयोग र चिनियाँ सरकारसँगको सम्बन्ध रहेको आरोप लागेको छ ।

यसैबीच अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा अस्ति मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटले जनाएको छ ।

सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट