यो झापा, त्यो झापा !
गत माघ १ गते झापा र छिमेकी जिल्ला तथा भारतका श्रद्धालुहरू महेन्द्र राजमार्गको कन्काई पुलमा माघी नुहाउन र मेला हेर्ने गइरहेका थिए । तर, हामी लक्ष्मीपुर, घैलाडुब्बा, चकचकी अनि राजगढ हुँदै झापा बजारतर्फ हुँकिरहेका थियौं । लक्ष्मीपुरबाट केही तल पुग्दा नपुग्दै कुहिरोले बाटो देख्न नै मुस्किल पर्न थाल्यो तर पनि हामी निरन्तर दक्षिणतिर लागिरहेका थियौं ।
लोकतन्त्र आउनुपूर्व सुरुङ्गाबाट तल शरणामती, टाघनढुब्बा हुँदै झापा बजार पुगेको थिएँ । धुलै–धुलोको बाटो देख्दा बालुबथान पुगेपछि झापालीले ठाउँ अनुसारकै नाम बालुबथान अर्थात् बालुवास्थान राखेका हुनन् भन्ने लागेको थियो । जे होस्, कुहिरोले वरिपरि देख्नै नसकिने भएता पनि राजमार्गदक्षिणका चौंडा र चिल्लो सडक देख्दा नेपालमा साँच्चै लोकतन्त्र आएको भान भएको थियो ।
त्यस दिन राजगढ बजार ‘सेलरोटी दिवस’ मनाउनमा मग्न थियो । त्यसैको अघिल्लो दिन त्यहाँ ‘भाक्का दिवस’ पनि मनाइएको रहेछ । राजगढ बजार पहिलेभन्दा निक्कै गुलजार भएको रहेछ । ठाउँप्रतिको आकर्षण बरकरार राख्न त्यस ठाउँको विकास त हुनु नै पर्छ । साथसाथै केही न केही तमासाको आयोजना पनि गरिराख्नुपर्ने रहेछ । त्यसैले त अचेल राजगढ केही न केही चर्चामा आइरहन्छ ।
राजगढको सेलरोटी दिवसमा एकछिन् सरिक भएर फेरी हामी तीनभाई, ‘स्वतन्त्र आवाज’का प्रकाशक/प्रधान सम्पादक देवेन्द्रकिशोर ढुंगाना, राष्ट्रिय समाचार समितिका झापा जिल्ला प्रमुख दिपक चन्द र आफु झापा बजार पुग्यौं ।
झापा बजार चोकमा स्थानीय शिक्षक तथा समाजसेवी सन्तोष कुमार गणेश हामीलाई पर्खिरहनु भएको रहेछ । चोकको छाप्रे चिया पसलमा चिसो धुम्म धुम्मिएको मौसमामा तात्तातो चिया खाँदै मैले वहाँलाई प्रश्न गरे, ‘यहाँ सुजित श्रेष्ठको घर कता छ ?’ वहाँले भन्नुभयो, ‘वहाँहरू त झापा बजार छोडेर बिर्तामोड बसाइ सर्नुभयो नि !’
‘झन झापा बजारमा त अहिले चिल्लो सडक पनि बनेछ, मोबाइलको टावर पनि देखिरहेको छु, बजारमा तीनपाङ्ग्र सवारीको लर्को पनि देखिरा’को छु । तर पनि यहाँका मान्छे बसाइ सरेर पहिलाको सदरमुकाम झापा बजार छोडिरहेका छन् । किन ?’, मैले फेरि प्रश्न तेस्याएँ ।
त्यसपछि उनले झापा बजारको समस्या, सम्भावना र चुनौतीको पिटारा खोल्दै भने, ‘झापा बजार उँभो नलाग्नुको पछाडि एक हुलाकी सडक सुचारु नहुनु हो । त्यसको मुख्य समस्या कन्काई नदीको पुल नबन्नु हो । त्यसैगरि दिघलबैंक (भारत)–झापा भन्सारलाई पूर्ण रुपमा नखोलिनु पनि झापा बजार उजाड बन्नुको मुख्य कारण हो ।’
पुल नबनेर स्थानीय जनतालाई सास्ती :
हुलाकी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्न कन्काई पुल झापा बजारबाट करिब चारकिलोमिटर उत्तरतर्फ छ । हामी पुग्दा कन्काई नदीमा माघी नुहाउने फाट्टफुट्ट केही धर्मावलम्बीहरू थिए । पुलको अस्थिपञ्जर जिंग्रीङ्ग खडा थियो । नदीमा आवतजावत गर्न बाँसको अस्थायी पुल बनाईको छ । पुल काट्न बच्चा र जेष्ठ नागरिक बाहेक अरुले पुलको मुखैमा हालिएको ढाटमा एकतर्फी २० रुपैयाँ तिर्नुपर्ने र मोटरसाइकलका लागि ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले बाह्रै मास हैरानी भोग्नुपरेको छ ।
यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए। उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
नदीमा पुल नहुँदा यहाँ सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा नदीमा डुङ्गा सञ्चालनका लागि दुई लाख २५ हजारमा ठेक्का दिएको छ ।
ठेकेदारको आफ्नै गुनासो :
ढलाने पुल बनाउने ठेकेदार पप्पु कन्सट्रक्सनले पुल बनाउने कार्य रोकेर अलपत्र पारेपछि हाल बाँसको पुलको ठेक्का स्थानीय ईश्वर माझीले लिएका छन् । उनको फेरि आफ्नै दुखेसो छ । उनी भन्छन्, ‘तीन लाख रुप्या यो भाटा पुल बनाउन खर्च भएको छ । ठेक्काको लागत उठ्दा न उठ्दै वर्षाको भेलले पुल नै बगाइदिन्छ अनि घाटा लाग्छ । वर्षाको बेलामा नौका चलाउनु पर्ने हुन्छ । नौका अहिले मक्किन थालिसकेको छ । बनाउन पाँच/छ लाख रुप्या लाग्छ । देख्नेहरूले चैं मैले कत्ती नै कमाएको जस्तो गर्छन्, तर मेरो समस्या कस्ले बुझ्ने ?’
नदी कटान अर्को समस्या :
स्थानीय जनताका अनुसार मुख्य समस्या पुलभन्दा पनि नदी कटान हो । ‘बरु पुल नबनोस् तर जनता तटबन्धन गरोस् । वर्षात्को भेल गाउँमा पस्छ । हाम्रो बिचल्ली हुन्छ ।’, स्थानीयवासी टंकप्रसाद श्रेष्ठले सुनाए ।
राजमार्गमा धर्ना बस्ने तयारी :
पुल बनाउन सुरु गरेर आधा पनि नबन्दै काम ठप्प पारिएको १३ वर्ष भयो । वडाध्यक्षद्वय झापा गापा–२ का हिमाल चौलागाईं र गौरीगंज गापा–१ का कात्तिक राजवंशीले पनि पुलका लागि धेरै ठाउँमा गुनासो गरेको तर अझै पनि पुलको काम अगाडि बढ्न नसकोलेको स्थानीयवासी र कृषकहरूलाई समस्या परेको सुनाए । पुल बन्न सके कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो भन्ने दुवैजनाको भनाइ छ ।
पुल पारिको क्षेत्र गौरीगंज प्रधानमन्त्री तथा सांसद केपी ओलीको चुनावी क्षेत्र पर्छ भने वारीको झापा अम्बिका साँवाको क्षेत्र पर्छ । वहाँहरू दुवैजना पुलको समस्याबारे अवगत हुनुहुन्छ तर बनाउने तर्फ वहाँहरूको कुनै चासो नदेखिएको स्थानीय जनताको आरोप छ ।
यस विषयमा कोशी प्रदेशसभा सदस्य (झापा क्षेत्र नं. ४ ख) कि लखी कुमारी गणेशले अब पनि पुल नबनाइए महेन्द्र राजमार्गमा अवरोध गरेर धर्ना दिने चेतावनी दिएकी छन् । उनि भन्छिन्, “अहिलेको ठेक्का प्रक्रिया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।”
चेतावनी सहित उनी भन्छिन्, “यस बिचमा महेन्द्र राजमार्गमा कयौं पुल बने, कयौं पटक हाइवेको स्तरोन्नती गरियो । अझै थप बढाउने काम भइरहेको छ । तर, आदिवासीबहुल हाम्रो क्षेत्रलाई राज्यले समेत हेपेको छ । सिलान्यास गरेको १३ वर्षभन्दा वढी समयमा पनि प्राविधिक कारण देखाएर अझै यसरी नै काम टंग्याइरहने हो भने राजमार्गमा हामी अब महेन्द्र राजमार्गमा बाँस तेस्र्याएर धर्ना बस्छौं ।”
भन्सार खोले दुबै देशलाई लाभ :
झापा बजारबाट करिब चार किलोमिटरको दुरीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना छ । सिमानामा पूर्णरुपको भन्सार कार्यालाय खोलेर पूर्णरुपमा भन्सार सुचारु नगरिएको कारण यताका सवारी साधन यतै र उताका सवारी साधन उतै रोक्नुपर्ने अवस्था छ । पारिपट्टी भारतीय बजार दिघलबैंक (किशनगंज, बिहार) छ । झापाका स्थानीयहरू घरायसी मालमत्ता खरिद गर्न उतै जाने गरेका छन् भने उतातर्फका नागरिक घुम्न र मदिरा सेवन गर्न नेपालतर्फ आउने गरेका छन् । बोर्डरसँग टाँसिएका थुप्रै मदिरा पसल छ । बिहार सरकारले मदिरा निषेध गरेका कारण साँझपख त्यहाँ पारिबाट मदिरासेवनका लागि आउनेको निकै भिडभाड हुने गर्छ ।
यससम्बन्धमा नेपाल–भारत मैत्री संघ संयोजक तथा ग्राम पञ्चायत दिघलबैंकका मुखिया प्रतिनिधि गणेश कुमार सिंहले भन्सार खोलेमा दुवैतर्फका व्यपारी र स्थानीयलाई लाभ पुग्ने बताए । भन्सार खोल्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौं पुगेरै भेटेको मोबाइलमा फोटो देखाउँदै बताए । “वहाँहरू सकारात्मक हुनुभएको छ । अब चाँडै नै भन्सार खुल्ने कुरामा विश्वस्त छु । हाम्रो जिल्ला मुख्यालयभन्दा हामीलाई झापाको बिर्तामोड जान दूरीको हिसाबले नजिक पर्छ । नाका खोलिएमा उपचार गर्न होस् वा घुम्न, बिर्तामोड नै हामीलाई सहज पर्छ । भन्सार पूर्णरुपमा खुलेमा हामीलाई नेपालतिर दुबैतर्फ व्यापार व्यवसाय बढ्ने थियो । दुबै तर्फलाई फाइदा पुग्नसक्छ ।”, उनले भने ।
यस सम्बन्धमा प्रभात खबर दैनिकका क्षेत्रीय सम्वाददाता नरेन्द्र कुमार सिंह र दैनिक जागरण तथा जी मिडियाका सच्चिदानन्द सिंहले पनि जतिसक्दो चाँडो भन्सार खोल्नुपर्नेमा जोड दिए । उनिहरूले हामीलाई भने, ‘तपाईंहरू उताबाट पहल गर्नुस्, हामीहरू यताबाट पहल गर्छौं ।’
झापा बजारको चुनौती :
यदी पुल पनि बन्यो, भन्सार पनि खोलियो भने पनि एउटा चुनौती चैं कायमै रहने देखिन्छ । त्यो के हो भने, झापा बजार क्षेत्रका स्थानीयहरू जग्गा बेच्ने मनासायमा रहेको देखिएन । गणेश जातीको बाहुल्य त्यस क्षेत्रमा ठूला–ठूला प्लटहरू खाली रहेको तर बेचेर बजारक्षेत्र विस्तार गर्ने कुरामा समस्या रहेको वडाध्यक्ष हिमाल चौलागाईंले बताए । त्यसका लागि विकल्पको रुपमा अरु उपायहरू सोच्नुपर्ने उनको भनाई छ ।
क्याटेगोरी : बिचार, समाचार
ट्याग : #Jhapa Bazaar, #Kankai breeze, #Nepal-India Border, #Yogesh Khapangi
प्रतिक्रिया