आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै नभई बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।
गएको मङ्सिर महिनामा मात्रै ३० वटाभन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताए । पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनले बताए ।
पहिले–पहिले गाह्रो भएको तर अहिले ठाउँठाउँबाट माग भइरहेको र आम्दानी पनि ठीकै भएको समूहकी अध्यक्ष खड्काले सुनाए । एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको उनले जानकारी दिए । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाइ छ ।
पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरूले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेशामा लागेको अध्यक्ष खड्काले बताए ।
समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको १ लाख ४० हजार रुपैयाँले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध छन् । पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताए ।
पञ्चेबाजा बजाउने मात्रै नभई यो समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया