Techie IT
Samayabaddha
बिहीबार, १० माघ, २०८१

तापक्रम बढेसँगै चिसो घट्न थाल्यो


काठमाडौं । माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपाली पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ ।

माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।

पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थालेको छ ।

काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताए ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।

आज काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री रहेको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आज बिहानैदेखि ती क्षेत्रमा मौसम बदली भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम क्षेत्रमा कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । मौसम बदली भएकाले आज धेरैजसो ठाउँमा तापक्रम घट्न सक्ने अनुमान छ । तर यो लामो समयसम्म नरहने मौसमविद्को अनुमान छ ।

आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । काठमाण्डौसहित अरु बाँकी ठाउँमा आजको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट