सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोलिएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको आयोजनाको बेस क्याम्पमा भएको औपचारिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि सुरुङ छिचोलिएको हो ।
सुरुङ औपचारिक रूपमा छिचोल्नका लागि १ मिटर ८ सय सेन्टिमिटर भाग बाँकी राखेकोमा प्रधानमन्त्रीको सम्बोधनलगत्तै प्राविधिकले विष्फोट गराएर छिचोलेका हुन् ।
२०८० साल माघ ४ गतेदेखि खन्न थालेको सुरुङ एक वर्षमै छिचोलिएको हो । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म १ हजार १ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवलसम्म ल्याउन सहज पुग्ने बताए ।
सुरुङमार्गमा कुनै समस्या आइपरे आपत्कालीन निकासका लागि ३ वटा बाइपास सुरुङ राखिएको छ । १ सय ५१ मिटर, १ सय ६१ मिटर र १ सय ३० मिटर गरी ३ वटै बाइपास सुरुङ पनि यसअघि नै छिचोलिएका छन् ।
२०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको सुरुङमार्गको निर्माण कार्य ४०।१८ प्रतिशत पूरा भएको छ । पछिल्लो समय मृत्युमार्गका रूपमा परिभाषित हुँदै गएको बुटवल–पाल्पा खण्डमा भएका दुर्घटना रोक्न यो सुरुङ महत्त्वपूर्ण हुने विश्वास छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया