Techie IT
Samayabaddha
शुक्रबार, ११ माघ, २०८१

भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न


काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न भएको छ ।

परीक्षणको शुभारम्भ गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले ताररहित महानगर बनाउने योजना अनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको बताए । यसले महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

काठमाडौंपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीबाट पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतीकरण ११ केभी लाइन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिए ।

आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीव्र रूपमा अघि बढेको छ । एक महिनाभित्र ६ वटा फिडरबाट बिजुली आपूर्तिको कार्य पूरा हुने र ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उनले जानकारी दिए ।

भूमिगत विद्युतीकरणसँगै इन्टरनेट फाइबर बिछ्याउने कार्य पनि अघि बढिरहेको छ । अबको ६ महिनापछि सबै पोलहरू हटाइने छ । सबै विद्युतीय संरचना भूमिगत हुने आयोजनाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट