काभ्रेको महाभारत जङ्गलमा लागेको आगो हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेन
काठमाडौं । काभ्रेको महाभारत जङ्गलमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेको छैन ।
गृह मन्त्रालयले पठाएको हेलिकोप्टरमार्फत हिजो २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले पनि जङ्गलमा आगो बलिरहेको छ ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस्ती नजिक रहेको रमितेडाँडा, ज्वाने थुम्को लगायतका क्षेत्रमा भने आगो नियन्त्रण भएको बताए । गएको मङ्गलवार दिउँसो डढेलो शुरू भएको हो ।
अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताए । उनका अनुसार वडा नम्बर २ गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलोमा खन्याइएको हो ।
डिभिजन वन कार्यालय काभ्रेका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमामा रहेको महाभारत जङ्गलमा फैलिएको डढेलोले अरु वन क्षेत्रसमेत जोखिममा रहेको भन्दै बेथानचोक गाउँपालिकाले पर्यटकलाई वन क्षेत्रमा जान रोक लगाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया