सामुदायिक विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गरिने
तनहुँ, १३ माघ । तनहुँको नगरपालिकाकाको सामुदायिक विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गरिने भएको छ । भाषाको संरक्षण गर्न कक्षा सञ्चालनको तयारी गरिएको हो ।
मगर भाषाको संरक्षणको लागि व्यास नगरपालिकाले चासो राखेको छ । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरित्त कक्षाको रूपमा मगर भाषामा पढाइ सञ्चालन गर्न तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम पठाउनका लागि नगरपालिकाको सहयोगमा शिक्षकलाई तालिम दिन थालिएको छ ।
नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषामा पढाइको शिक्षकलाई पाँच दिने तालिम दिन थालिएको छ । तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले भाषा, साहित्य र कला संरक्षणको लागि ध्यान दिएको बताए। नगरपालिका भित्रको भाषा, सस्कृति र साहित्यको संरक्षण गर्ने उद्धेश्य प्रज्ञा प्रतिष्ठान गठनको स्मरण गर्दै मगर भाषाको संरक्षणको लागि तालिमको लागि दुई लाख रुपियाँ रकम विनियोजन गरेको बताए ।
भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन भाषामा कक्षा सञ्चालन गर्न मद्दत गरेको उनको भनाइ थियो । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन लागेकोले यस्ता तालिमले मद्दत पुग्ने विश्वास नगर प्रमुख न्यौपानेले गरे।
भाषालाई पुस्तान्तरणका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले शिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिको अध्यक्ष रिमा आले मगरले बताए । समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगर भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण दिइरहेका छन् । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरू सहभागी छन् ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया