Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्न निर्देशिका स्वीकृत


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्न निर्देशिका स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नवजात शिशुको श्रवणशक्तिमा समस्या भए-नभएको परीक्षण अनिवार्य गर्ने गरी श्रवण स्क्रिनिङ्ग निर्देशिका–२०८१ स्वीकृत गरेका छन् ।

निर्देशिका अनुसार अब सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भएरनभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

स्वास्थ्यकर्मीले श्रवणसम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप उपचार आवश्यक परेमा नाक, कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । परीक्षण उपकरण विशिष्टीकृत अस्पतालमा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । यस आधारमा धेरैभन्दा धेरै बालबालिकाको समयमै उपचारका लागि पहिचान गर्न देशभर नवजातको जाँच आवश्यक भएकाले निर्देशिका निर्माण भएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

 


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट