Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

पर्सामा १२ जनाले गरे नागरिकता परित्याग


वीरगञ्ज, १४ माघ । पर्सा जिल्लामा १२ जनाले आफूले लिएको नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन् ।

विदेशमा गएर उतै बस्ने भएपछि त्यस्ता व्यक्तिले नागरिकता परित्याग गर्ने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामा ४ जना भदौ र असोज महिनामा १–१ जना अनि कात्तिक, मंसिर र पुस महिनामा २–२ जना गरी १२ जनाले नागरिकता परित्याग गरेका हुन् ।

यसै अवधिमा ३ हजार ७ सय ७१ जनाले नयाँ राहदानी लिएका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ हजार १ सय ६ जनाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जसमा ५ हजार ९ सय ८६ जनाले प्रतिलिपी र ६ हजार १ सय २० जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेसँगै कार्यालयमा प्रशासनमा हुने काम पहिलेभन्दा छिटो हुन थालेको सेवाग्राहीहरुको भनाइ छ । नागरिकता प्रतिलिपि फाँटका शाखा अधिकृत दिपककुमार पटेलले पहिले ३ देखि ५ दिन लाग्ने गरेको काम नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि आजको आजै प्रतिलिपि नागरिकता उपलब्ध गराउने गरेको बताए ।

नयाँ नागरिकता फाँटका शाखा अधिकृत कृष्णकुमार खतिवडाले सेवाग्राहीलाई समस्या नहुनेगरी कर्मचारी बढी समय खटेर भए पनि समयमै नागरिकता दिइरहेको बताए।

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीले पाउने सेवा तथा काम गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, काम गराउँदा अपनाउनु पर्ने सचेतनालाई कार्यालय अवधिधर माईकिङ गर्ने गरेको छ । सेवाग्राहीको लागि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फारम कार्यालयमै निःशुल्क भर्ने सुबिधा मिलाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट