अछाममा एकै परिवारका दुई किशोरी मृत्यु प्रकरण : दुई जना पक्राउ
अछाम, १४ माघ । अछाममा एकै परिवारका दुई किशोरी मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् । शनिबार साँझा ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए ।
सोही घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन ।
डीएसपी भण्डारीका अनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए । ‘प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला परेपछि खबर गरिएको थियो,’ डीएसपी भण्डारीले भने, ‘इश्वरीको शव नजिकै सरस्वती पनि मृत फेला परिन् । शनिबार राति भइसकेकोले घटनास्थल सुरक्षाको काम मात्रै भएको थियो ।’
आइतबार भने घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, अछाम प्रहरी प्रमुख भण्डारीसहितका अधिकारी पुगेका थिए । अछामका प्रहरी प्रमुख भण्डारीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।
डीएसपी भण्डारीले दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भेरी लगिएको जानकारी दिए । ‘घटनामा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले दुई जनालाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौँ ।’
परिवारका सदस्यले भने दुवै जनाको हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन् । मृतक सरस्वतीकी आमा तारा खड्काले घटनाको सत्यतथ्य छानबिनका लागि घटनास्थल पुगेका अछामका प्रमुख जिल्ला अधिकारी लम्सालसमक्ष आग्रह गरिन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया