Techie IT
Samayabaddha
मंगलबार, १५ माघ, २०८१

सौर्यमण्डलका ६ ग्रह पृथ्वीबाट एकसाथ देखिए


काठमाडौं, १४ माघ । सौर्यमण्डलमा रहेका आठमध्ये ६ ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन्। यति धेरै ग्रह पङ्क्तिबद्ध भएको पृथ्वीबाट सितिमिति देखिँदैन। सूर्यलाई परिक्रमा गर्ने क्रममा ती ग्रहहरू भेटिएका हुन्।

सौर्यमण्डमा रहेका आठ वटै ग्रहले सूर्यलाई आफ्नै गतिमा परिक्रमा गर्ने गर्छन्। सूर्यबाट ती ग्रहहरूको दूरी फरक हुने भएका कारण परिक्रमा गर्ने समय पनि फरक(फरक हुन्छन् तर यो पटक भने संयोगवस आठमध्ये छ वटा ग्रह आपसमा भेटिएका हुन्।

वीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार पङ्क्तिबद्ध भएर रहेका ग्रहहरूमा शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण हुन्। यो पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन। शर्माका अनुसार शनि, शुक्र, बृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिएका छन् तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिन्छ।

छ वटा ग्रह सौर्यमण्डलमा पङ्क्तिबद्ध भएर बसेको दृश्य परेड खेल्न तयारी अवस्थामा रहेका सुरक्षाकर्मी जस्तै देखिएको शर्माले बताए। यो घटना विरलै हुने गरेको शर्माले बताए। उत्तरी गोलार्धबाट प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने यो रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने उनले बताए। ‘माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शुक्र,बृहस्पति र मङ्गल ग्रहलाई लामबद्ध भएर एउटै पङ्क्तिमा आकाशमा नृत्य गरिरहेको प्रतित हुन्छ’, उनले भने।

शर्माका अनुसार यो अवधिमा चन्द्रमा मध्यरातमा उदाउनुका साथै यो अर्धचन्द्राकार हुने भएका कारण सूर्य अस्ताउनेबित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण–पश्चिम दिशादेखि उत्तर(पूर्व दिशामा देख्न सकिन्छ। यी ग्रह पङ्क्तिबद्ध रहे पनि यिनीहरूको तस्विर एकैसाथ लिन भने कठिन छ। काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहलाई खाली आँखाले अवलोकन गर्न सकिने छ।

निःशुल्क अवलोकन

ग्रहहरूको लामलाई बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले निःशुल्क अवलोकन गराउने भएको छ। शर्माका अनुसार सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले सर्वसाधारणलाई निःशुल्क ग्रह अवलोकन गर्ने व्यवस्था मिलाएको छ।


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


ताजा अपडेट