आज ६३ औं नेपाल नर्सिङ दिवस : नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढ्दो
काठमाडौं । आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न नसकेको नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताइन् ।
उनले नेपालमा वर्षेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन नसकेको बताइन् । अध्यक्ष शर्माका अनुसार नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम छ ।
नेपालमा काम गर्न र पढ्नका लागि पर्याप्त वातावरण नभएको, बढी श्रम गर्नुपर्ने, तर तलब त्यसअनुसार नभएको भन्दै नर्सहरु विदेश जाने क्रम बढिरहेको छ । अहिले नेपालका धेरै स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ ।
एकातिर जागिर छाड्नेको सङ्ख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको सङ्ख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ ।
नर्सहरु विदेश पलायन हुनेक्रमलाई रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौतीको सामना गर्नुपर्ने नर्सिङ सङ्घकी अध्यक्ष शर्मा बताउँछिन् ।
नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गएको मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया