Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने प्रस्तावका लागि प्रधानमन्त्रीसमक्ष कार्ययोजना प्रस्तुत


काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भएका विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले आग्रह गरेका थिए । त्यो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले सस्तो लोकप्रियताका लागि स्वास्थ्य बीमा योजनाको रकम ५ लाख रूपैयाँ पु¥याउने घोषणा गरेको भन्दै आलोचना खेपिरहेका बेला उनले कार्ययोजनासहितको प्रतिवेदन बुझाएबाट गरे सम्भव छ भन्ने देखिन्छ । मन्त्रीमाथि पर्याप्त वित्तीय श्रोत सुनिश्चितता बिना नै सार्वजनिकरूपमा यस्तो अभिव्यक्ति दिएको भन्दै उनकै दलभित्रबाट पनि आलोचना भएको थियो ।

आम नागरिकलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न सरकारी निकायबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा उपचार सेवाको रकम एक लाखबाट पाँच लाख पु¥याउने आफ्नो योजना स्वास्थ्यमन्त्रीले गत साउन महिनामा नै पत्रकार सम्मेलनमार्फत नै सार्वजनिक गरेका थिए ।

के छ अहिलेको स्वास्थ्य विमाको अवस्था ?

अहिले स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकहरुले वार्षिक एक लाखसम्मको निःशुल्क औषधि उपचार गर्न पाइने व्यवस्था छ । जसका लागि ५ जनाको परिवारका लागि वर्षदिनमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । पाँच जनाले वार्षिक प्रतिव्यक्ति २० हजार रुपैयाँबाट मात्रै उपचार गराउन पाउने देखिन्छ । यसबाट सामान्य उपचार मात्रै पुग्ने देखिन्छ । जटिल रोगको उपचार सो रकममार्फत सम्भव देखिँदैन ।

आम नागरिकले बीमामार्फत नै सहज र केही खर्चिलो उपचार गर्न पाउने उद्देश्यले बीमाको उपचार रकमको दायरा एक लाखबाट पाँच लाख पु¥याउने मन्त्री पौडेलको कार्ययोजना हो ।

अहिले स्वास्थ्य बीमामा आवद्धता कति छ ?

स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्याङ्क अनुसार २५ लाख ६ हजार ३१२ परिवारका करिब ८१ लाख ४५ हजार ८३१ जना आवद्ध छन् । यसमध्ये सक्रिय नवीकरण सेवा लिने संख्या करिब ३९ लाख १९ हजार ७०४ जना रहेको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा नयाँ दर्ता हुने जनसंख्या र नवीकरण गरी जम्मा संख्या ५२ लाख २६ हजार १५८ जना छ । बीमा कार्यक्रममा आवद्ध भइ सेवा लिएको संख्या ३८ लाख ६१ हजार ६४ जना रहेको बोर्डको पछिल्लो तथ्याङ्क छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट