Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

‘गाँजा फँडानीमा’ तस्करकै हात, हेटौँडा प्रहरीको लुकामारी


गएको मंसिर ७ गते चितवनबाट लोड भएर आएको पिकअप भ्यान बागमती प्रदेश र मधेस प्रदेशको सीमा क्षेत्र नजिकैबाट प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लियो । चितवन र मकवानपुरको बाटोबाट सो गाँजा लोड गरिएको पिकअप सहजै मधेस प्रदेश प्रवेश गराउन असहज भएपछि बागमती प्रदेश ०३–००१ च २२८० नम्बरको उक्त सवारी साधन चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भिमानले फल्स वटम लगाएको देखेपछि शंका लागेर खोलेर हेर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको थियो ।

प्रहरी जवानले गाडी रोक भन्नासाथ चालक आत्तिएपछि शंका लागेर खानतलासी गर्ने क्रममा सो तथ्य खुलेको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेको भनाइ थियो । चितवन र मकवानकापुरको विभिन्न युनिटहरु पारगर्दै सिन्धुली र धनुषाको सीमा क्षेत्र पुग्न लागेको उक्त गाँजावाहक गाडी नियन्त्रणमा आएपछि अघिल्लो वर्ष उत्पादन र भण्डारण गरिएको गाँजाको निकासी गर्ने समय भएको देखिएको छ । फल्स वटम लगाएर सिन्धुली प्रहरीले पक्राउ गरेकै शैलीका प्याकिङ र गाडी त्यसको ठीक तीन दिनपछि मकवानपुरको नेवारपानीस्थित प्रहरी चौकीले पक्राउ गरेको थियो भने मकवानपुर प्रहरीले त्यसलाई ठूलै माछा हात परे झैं गरी सार्वजनिक गरेको थियो ।

गाँजा फँडानीमा तस्करकै हात !

मकवानपुरमा बेला बेलामा गाँजा तस्करहरुबीच गोली हानाहान भएको घटना सार्वजनिक भएका थिए । मकवानपुर जिल्लाको राक्सिराङ र खैराङ क्षेत्रमा एउटाले उत्पादन गरेर बेचेको गाँजा लुटेर लैजाने क्रममा केही वर्ष अगाडि दोहोरो गोली हानाहानका घटना नभएका होइनन् । तर सिन्धुलीमा यस्तो घटना भयो जसलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । एक दुई जना प्रहरी र अन्य सिभिल ड्रेसमा रहेका मानिसहरुले ९ घर परिवारले लगाएको मात्रै गाँजा फाँडे र त्यसको फुलहरु लिएर गए भन्दा पत्याउन निकै मुस्किल परिरहेको छ ।

गएको पुस ३ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नंं. ६ क्यानशिरमा व्यावसायिक रुपमा लगाइएको गाँजा रातारात काटिएको छ र सो गाँजा काट्ने वा फँडानी गरिएकोबारे गाँजा किसान मात्रै होइन, सिन्धुली प्रहरी नै बेखबर बनिरहेको छ ।
स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार एकाध ड्रेसमा र अन्य सादा पोशाकमा रहेका एक दर्जन मानिसहरुले राती करिव ३ विगाह क्षेत्रफलमा लगाइएको पाकेको गाँजा फँडानी गरेको बताएका छन् । ती किसानका अनुसार ९ जना किसानहरुले लगाएको गाँजा खेती फँडानी गरेपछि उनीहरु त्रसित बनेका हुन् । हाम्रो वारीमा लगाएको गाँजा फँडानीवारे अहिलेसम्म केही कुरा पनि खुलेको छैन, किन र कसले फाँड्यो, सो कुराको सुइँकोसम्म नपाएको उनीहरुको भनाई छ । पाक्न थालेको गाँजा फाँडिएका विषयमा सिन्धुली प्रहरी पनि अनबिज्ञ छ । प्रहरी प्रमुख गोविन्दराज काफ्ले यसबारे आफूलाई केही पनि जानकारी नभएको बताउँछन् ।

हरिहरपुरगढीको अन्य क्षेत्र भुताहा, आरनटोल, सिसौदमार, बन्चरे लगायतका क्षेत्रमा लगाइएको गाँजा खेतीमा भने यो समाचार तयार पार्दासम्म कसैले पनि धावा वोलेको छैन । यता गाँजा ओसार पसारमा संलग्नहरुले नै प्रहरीको नाममा गाँजा काटेर गुणस्तरीय थुँगाहरु लगेको हुनसक्ने अनुमानसमेत गर्न थालिएको छ ।

आफूहरुले लगाएको गाँजा काटिएपछि सो कुराको जानकारी प्रहरीलाई दिन उनीहरु सकिरहेका छैनन् । नभनौं, आफ्नो लाखौं रकमको गाँजा नष्ट भएको छ, एक स्थानीयले टेलिफोनमा दुखेसो पोखे । प्रहरी आफैं गाँजा फँडानीमा संलग्न हुँदा ड्रेसमै पुग्ने गरेको विगतको विवरणले क्यानशिरमा भएको घटनालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

हेटौंडा प्रहरीको लुकामारी !

देशकै सबैभन्दा धेरै क्षेत्रफलमा गाँजा खेती हुने जिल्लाको रुपमा रहेको मकवानपुरमा यो वर्ष पनि प्रहरीले गाँजाको बोट नष्ट गर्ने कामको थालनी गरेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको राक्सिराङ, कैलाश, इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाको विकट क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गर्न प्रहरी गाउँ पसेको छ । मकवानपुर प्रहरीले पहिलो चरणको अभियानअन्तर्गत ८७ बिघा क्षेत्रफलमा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको छ ।

पहिलो चरणअन्तर्गत ४ पालिकामा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका ७५ बिघा ७ कठ्ठा गाँजा खेती र १२ बिघा ३ कठ्ठा अफिम खेती नष्ट गरेको प्रहरीको भनाइ छ । सरकारले अवैध खेतीको रुपमा व्याख्या गर्ने गरेको गाँजा तथा अफिम खेतीलाई प्रहरीले यसै सिजन प्रत्येक वर्ष गाउँगाउँ पुगेर नष्ट गर्ने गरे पनि खेतीमा भने कमी आएको छैन ।

गाँजा खेतीलाई ‘वैधानिक’ बनाउने विषयमा संघीय र प्रदेशसभामा बहस हुने गरे पनि निचोड नआउँदा मकवानपुरमा गाँजा खेती गर्ने स्थानीय र नष्ट गर्ने प्रहरीको लुकामारी चलिरहेको छ । संघ, प्रदेश तथा स्थानीय तहको हरेक निर्वाचनमा गाँजा यस क्षेत्रको प्रमुख मुद्दा बन्ने गरेको छ । तैपनि प्रत्येक वर्ष यस मुद्दामा मात्र सीमित बन्न पुग्दा समस्या थप जटिल बनेको छ । आफ्नो फेसबुक प्रोफाइलमा गाँजा फडानी गर्दै गरेको भिडियो पोष्ट गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘झुक्याउने खेल’ भन्दै स्टाटससमेत लेखेका छन् ।

गाँजा खेतीलाई सरकारले नियमन गरी वैधानिक बनाउनुपर्ने धारणा राख्दै आएका मल्लले गरिब जनताको गाँस काटेर राज्यले अपराध गरेको धारणा व्यक्त गर्दै आएका छन् । २०७६ साल माघ १९ मा गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । सत्तारुढ दलका प्रतिनिधिसभा सदस्य रहेका मकवानपुरका विरोध खतिवडा प्रस्तावक रहेको उक्त प्रस्तावमा नेकपाका ४५ जना प्रतिनिधिसभा सदस्यले समर्थन जनाएका थिए, तर उक्त प्रस्ताव त्यो समय प्रस्तावको रुपमा मात्र सीमित बनेको थियो ।

२०८० साल जेठ ६ गते बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका थिए । ‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्न काम गर्दै थिए, ती जेलमा छन् । सरकारले घोषणा गरोस् र तिनीहरुलाई जेलमुक्त गरियोस् । त्यो म माग गर्न चाहन्छु’, उनले प्रतिनिधिसमा भनेका थिए । बर्तौलाले चुनावी प्रचारप्रसारको कार्यक्रममा पनि गाँजालाई वैधानिक बनाउँदै दुर्गम क्षेत्रका जनतालाई आर्थिक उपार्जनको बाटोमा लाग्न आफ्नो पूर्ण पहल हुने बताएका थिए ।

२०८१ जेठ २५ मा पनि तत्कालीन सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बजेटमै गाँजा खेतीको प्रसङ्ग उठाएका थिए । त्यतिबेला बजेटको बुँदा नम्बर १०५ मा ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ’ भन्ने उल्लेख थियो ।
तर, प्रत्येक वर्ष बजेटमा समेटिने गरिएको यस्ताखाले कार्यक्रमलाई सरकारले वास्ता नगर्दा ती क्षेत्रका किसान भने मारमा पर्दै आएका छन् ।

चितवनमा पनि उस्तै समस्या !

चितवनको राप्ती गाउँपालिका वडा नं १२ र १३ अबैध गाँजाको व्यवसायिक खेती हुने ठाउँका रुपमा बद्नाम छ । बेलाबेला प्रहरीले चलाउने गाँजा फाँड्ने अभियानले मात्र यो नियन्त्रणमा आउन सकेको छैन । साउन र भदौ महिनामा डाँडाभरि गाँजा रोपिएको हुन्छ, हुर्किदै गएपछि भारतीय आएर कुर्ने गरेको प्रहरी नै बताउने गर्छ । त्यसैले गाँजाखेतीका लागि भारतीयले लगानी गरेको हुनसक्ने चितवन प्रहरीको आशंका छ ।

यतिबेला अघिल्लो साल गाउँमा तयार भएको गाँजाको ओसारपोसार सुरु भएको छ । चितवन तथा मकवानपुरको पश्चिमी क्षेत्रबाट भारतीय नम्बर प्लेटका गाडीमा राखेर गाँजा भारत लैजान थालेको सूचनाहरु राष्ट्रिय अनुसन्धान विभागले प्राप्त गरिरहन्छ, प्रहरीको घुमुवा टोली व्यापारीकै नजिक पनि पुग्छन् तर ती सबै कामहरु असुलीमा पुगेर टुंगिने गरेको मकवानपुरको मनहरीका पत्रकार शिवकुमार काशीले बताए । गत महिना मात्रै मकवानपुर प्रहरीले मनहरी र चितवन प्रहरीको सेटिङमा आएको क्षेत्रबाट फल्स वटम बनाएर ल्याइएको ठूलो परिमाणको गाँजासहितको गाडी र चालकलाई प्रहरी चौकी नेवारपानीको टोलीले पक्राउ गरेको थियो ।

तस्करको चार तह !

गाँजा उत्पादक किसानहरुका अनुसार स्थानीय गाउँलेदेखि भारतीय व्यापारीसम्म गाँजा तस्करीको चार तह हुने गरेको छ । स्थानीय चेपाङ तथा तामाङ समुदायका स्थानीयले पूर्वपश्चिम राजमार्गसम्म गाँजा ल्याइदिनुपर्ने जिम्मा लिन्छन्, त्यसपछि तराई क्षेत्रको अर्को गिरोहले प्रहरी प्रशासनको समन्वयमा सीमावर्ती क्षेत्रमा लैजान्छ, दुवैतिर लिङ्क भएका सीमामा बस्नेहरुले भारतीय ब्यापारीलाई सप्लाई गर्छन् ।

भारतीय नम्बर प्लेटका सस्ता सवारी साधन गाँजा तस्करीमा प्रयोग गर्ने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । भारतमा गाँजाको प्रतिकिलो ४० हजारसम्म पर्ने गरेको छ । ‘कम्तीमा ३० किलो गाँजा सप्लाइ गर्न सक्यो भने दुईटा गाडी आउँछ । त्यसैले उनीहरु जोखिम मोलेको देखिन्छ’ लागु औषध नियन्त्रण व्यूरोका एक अधिकारीले भने, ‘भारतीयको लगानीमा गाँजा उत्पादन र बजारीकरणसम्म हुने गरेको देखियो ।’ राति १ बजेदेखि ४ बजेको समयमा अधिक मात्रामा तस्करी गरेको देखेपछि प्रहरीले सोही समयमा राजमार्गमा निगरानी बढाएको छ । भारतीय नम्बर प्लेटका गाडीमा निगरानी बढेपछि मोटरसाइकलमा गाँजाको तस्करी बढ्न थालेको प्रहरीले भनाई छ । पूर्व पश्चिम राजमार्गमा कडाइ गरेपछि चितवनको माडी हुँदै ठोरी वा पश्चिमको बाटो प्रयोग गर्न थालेको चितवन प्रहरीको आशंका छ । तर यो समाचार तयार पार्दासम्म यस क्षेत्रबाट गाँजा पक्राउ परेको छैन ।

गाँजा निकासीको समय !

चितवनको ठोरी, मध्यवर्ती आरक्ष क्षेत्र र मकवानपुरको पदमपोखरी तथा चुरियामाई क्षेत्रबाट गाँजा मधेस प्रदेशमा लैजाने गरिए पनि पछिल्लो समय ती क्षेत्रमा जोखिम बढ्दै गएपछि तस्करहरुले सिन्धुलीको मदनभण्डारी राजमार्गलाई प्रयोग गर्न थालेको पाइएको छ । झण्डै एक महिना अगाडि मदनभण्डारी राजमार्ग खण्डको वागमतीमा एक प्रधानाध्यापकलाई गोली प्रहार गरिएको घटनालाई पनि अनुसन्धानमा खटिएकाहरुले गाँजा कारोवारीसँगै जोडेर हेर्ने गरेका छन् । अहिले गाँजा फुल्न थालेको र केही ठाउँमा काट्ने बेला भइसकेकाले पनि प्रहरीको ध्यान फँडानीमा केन्द्रीत भएको र तस्करहरुले यही मौकामा अघिल्लो वर्ष भण्डारण गरिएको गाँजा भारतीय बजारमा पु¥याउन लागेको देखिएको छ । सिन्धुली र मकवानपुरमा प्रहरी नियन्त्रणमा आएको गाँजाको प्याकिङ, गाडीमा बनाइएको फल्स बटमले ठूलो परिमाणमा पक्राउ परेको गाँजाको व्यापारी एउटै भएको देखाउँदछ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट