बिरामीको परीक्षणसम्बन्धी जानकारी एकीकृत गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।
अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्याङ्क नहुँदा उपचारमा कठिनाइ रहेको छ । यो समस्या समाधानको लागि मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय गरेका हुन् ।
सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्र्तगत एक अर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ । यसले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
यस्तै अर्को पटक सेवा लिन अस्पताल जाँदा पनि विरामीले पहिलेको रिपोर्टहरु लैजान नपर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । अहिले अस्पतालहरुमा विद्युतीय प्रणाली लागू भए पनि एक अर्काबीच तथ्याङ्क आदानप्रदान गर्ने खालका छैनन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया