के ट्रम्पले यूएसएड बन्द गराउन सक्छन् ? त्यसको के असर पर्छ ?
यूएसएड अमेरिकी सरकारको तर्फबाट विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरू हेर्नका लागि सन् १९६० को दशकको आरम्भतिर गठन भएको निकाय हो। यूएसएडमा झन्डै १० हजार कर्मचारी छन्।

एजेन्सी, २३ माघ । विदेशी सहायताका लागि अमेरिकी सरकारको मुख्य निकायको रूपमा रहिआएको यूनाइटेड स्टेट्स एजन्सी फर इन्टरन्याश्नल डेभलप्मन्ट (यूएसएड) को भविष्यबारे आशङ्का व्यक्त भइरहेको छ। सो निकायका कर्मचारीले काम गर्न पाइरहेका छैनन् भने ट्रम्प प्रशासनले त्यसलाई विदेश मन्त्रालयमा गाभ्ने योजना बनाइरहेको छ।
यूएसएड अमेरिकी विदेश मन्त्रालयको एउटा शाखाका रूपमा काम गर्ने छ। तर अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजका अनुसार यूएसएडको बजेट तथा जनशक्तिमा महत्त्वपूर्ण कटौती हुने देखिएको छ।
सोमवार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएडको नेतृत्वपङ्क्ति ‘असहयोगी’ भएको आरोप लगाए भने त्यसको ‘कार्यवाहक प्रमुख’ अहिले आफू रहेको पनि बताए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वरिष्ठ सल्लाहकारमध्ये एक अर्बपति इलोन मस्क यूएसएडप्रति निकै आलोचनात्मक रहिआएका छन्। तर यूएसएड बन्द गर्ने कदमको ठूलो असर विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरूमा पर्न सक्छ।
यूएसएडलाई खारेज गरिएमा त्यसप्रति धेरैले समर्थन गर्ने देखिन्छ। अमेरिकी मतदाताहरूले अमेरिकाले वैदेशिक सहायतामा गर्ने खर्चमा कटौती गर्नुपर्ने धारणा राख्दै आएका मतसर्वेक्षणहरूले देखाएका छन्। शिकागो काउन्सिल अन ग्लोबल अफेअर्सका अनुसार सन् १९७० कै दशकमा गरिएको मतसर्वेक्षणले सहायता कटौतीको पक्षमा मत प्रकट भएको देखाएको थियो।
यूएसएड के हो र त्यसले के गर्छ ?
यूएसएड अमेरिकी सरकारको तर्फबाट विश्वभरि मानवीय सहायतासम्बन्धी कार्यक्रमहरू हेर्नका लागि सन् १९६० को दशकको आरम्भतिर गठन भएको निकाय हो। यूएसएडमा झन्डै १० हजार कर्मचारी छन्। तीमध्ये दुईतिहाइ विदेशमा कार्यरत छन्।
विश्वका ६० वटाभन्दा बढी देशमा यूएसएडका आधारक्षेत्र छन्। त्यसबाहेक अरू दर्जनौँ देशहरूमा पनि उक्त संस्थाले काम गर्छ। यद्यपि सम्बन्धित क्षेत्रमा अधिकांश कामहरू अरू संस्थाहरूले गर्छन् जोसँग यूएसएडले सम्झौता गरेको हुन्छ र जसलाई त्यसले सहायता उपलब्ध गराउँछ।
त्यसले गर्ने कामहरू थुप्रै छन्। उदाहरणका लागि, यूएसएडले भोकमरी हुने देशहरूमा खाद्यान्न सहायता मात्रै उपलब्ध गराउँदैन, भोकमरीको पहिचान गर्ने प्रणालीमा पनि काम गर्छ। उक्त प्रणालीले भोकमरीको पूर्वानुमान गर्नका लागि डेटाहरू प्रयोग गर्छ। यूएसएडको अधिकांश बजेट अहिले पनि पोलियो रोग देखिएका देशमा खोप कार्यक्रम तथा भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिने जस्ता स्वास्थ्य कार्यक्रममा खर्च हुने गरेको छ।
बाह्य सहायता र स्वैच्छिक सहायताहरूबाट चल्ने बीबीसीको अन्तर्राष्ट्रिय परोपकारी संस्था बीबीसी मिडिया एक्शनले पनि यूएसएसबाट सहायता पाउने गरेको छ।
सन् २०२४ को एउटा रिपोर्टअनुसार यूएसएडले ३२ लाख ३० हजार अमेरिकी डलर सहयोग गरेको थियो जुन उक्त आर्थिक वर्षमा दोस्रो ठूलो सहायता थियो।
डोनल्ड ट्रम्प र इलोन मस्कले यूएसएडमा किन आमूल परिवर्तन चाहेका हुन् ?
विदेशमा अमेरिकाले गर्दै आएको खर्चको ट्रम्प आलोचक रहिआएका छन् र अमेरिकी करदाताको रकम त्यसरी खर्च गर्नु उचित नभएको उनको तर्क छ। उनको कोपभाजनमा यूएसएड परेको छ। उक्त निकायका वरिष्ठ कर्मचारीहरूलाई उनले ूसन्काहाू भन्ने गरेका छन्।
यूएसएडलाई खारेज गरिएमा त्यसप्रति धेरैले समर्थन गर्ने देखिन्छ। अमेरिकी मतदाताहरूले अमेरिकाले वैदेशिक सहायतामा गर्ने खर्चमा कटौती गर्नुपर्ने धारणा राख्दै आएका मतसर्वेक्षणहरूले देखाएका छन्।
शिकागो काउन्सिल अन ग्लोबल अफेअर्सका अनुसार सन् १९७० कै दशकमा गरिएको मतसर्वेक्षणले सहायता कटौतीको पक्षमा मत प्रकट भएको देखाएको थियो।
समीक्षा गर्ने समय तोक्दै ट्रम्पले पद सम्हालेपछि गरेका प्रारम्भिक काममध्ये कार्यकारी आदेश जारी गरी सबै वैदेशिक खर्च ९० दिनसम्मका लागि निलम्बन गर्ने योजना पर्यो। त्यसपछि अमेरिकी विदेश मन्त्रालयले पत्राचार गर्दै कामहरू रोक्न भन्यो। तर पछि मानवीय सहायतासम्बन्धी कामको हकमा निलम्बन फुकुवा गरियो। यद्यपि अमेरिकी घोषणाले अन्तर्राष्ट्रिय विकास जगत्लाई निराश तुल्यायो र सेवामा व्यापक अवरोध सिर्जना गर्यो।
डेमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्पको कदमलाई गैरकानुनी भनेका छन् र राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताएका छन्। सो क्रममा उनीहरूले सिरियामा इस्लामिक स्टेटका लडाकुहरू भएका कारागारको सुरक्षा हेरिरहेकाहरूले अमेरिकी सहायता रोकिएपछि झन्डै काम छोड्नुपरेको रिपोर्टलाई उद्धृत गरेका छन्।
विश्वका अतिविपन्न देशमा औषधोपचार कार्यक्रम र स्वच्छ खानेपानी आपूर्ति नै रातारात बन्द गर्नुपर्यो। मानवीय सहायतासम्बन्धी एक अनुभवी व्यक्तिले बीबीसीलाई बताएअनुसार अमेरिकी कदमले ‘सहायता क्षेत्रमा भूकम्प ल्याए जस्तै’ भयो।
इलोन मस्कका लागि काम गर्ने अधिकारीहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न रोकिएपछि ह्वाइट हाउस र यूएसएडबीच गत सप्ताहान्तमा तनाव बढेको देखियो। मस्कका कर्मचारीहरूले त्यहाँबाट वित्तीय डेटा लिन खोजेका थिए।
विवरणहरूमा जनाइएअनुसार त्यो घटनापछि दुई वरिष्ठ अधिकारीलाई बिदामा पठाइयो। यूएसएडको वेबसाइट अफलाइन भएको छ र सोमवार कर्मचारीहरूलाई घर बस्न भनियो।
त्यसपछि सोमवार नै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यूएसएडको नेतृत्वपङ्क्ति ‘असहयोगी’ भएको आरोप लगाए अनि आफू उक्त निकायको ‘कार्यवाहक प्रमुख’ रहेको घोषणा गरे।
के ट्रम्पले यूएसएड बन्द गराउन सक्छन् ?
यूएसएडमाथि ह्वाइट हाउसको महत्त्वपूर्ण प्रभाव रहेको भए पनि त्यो शक्ति सिद्धान्ततः सीमित छ।
सन् १९६१ मा कङ्ग्रेसले वैदेशिक सहायता ऐन पारित गरेपछि यूएसएडको व्यवस्था भएको हो।
त्यो कानुनले वैदेशिक सहायता खर्च सम्बन्धमा कार्यादेश दियो। त्यसको केही समयपछि तात्कालिक राष्ट्रपति जोन एफ केनडीले कार्यकारी आदेशमार्फत् यूएसएड स्थापना गरे।
त्यसपछि सन् १९९८ मा अर्को कानुन पारित भयो जसले यूएसएडलाई उसको अधिकारसहित एउटा कार्यकारी निकायको हैसियत प्रदान गर्यो। सङ्क्षेपमा भन्नुपर्दा ट्रम्पले कार्यकारी आदेश जारी गरेरै यूएसएडको अन्त्य गराउन सक्छन् भन्ने छैन।
यदि उनले त्यसो गर्ने प्रयत्न गरे भने पनि अदालतहरू र कङ्ग्रेसबाट कडा चुनौतीको उनले सामना गर्नुपर्ने लगभग निश्चित छ। यूएसएडलाई बन्द गराउनका लागि कङ्ग्रेसको आवश्यकता पर्ने छ जहाँ दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको झिनो बहुमत छ।
चर्चामा रहेको एउटा विकल्प भनेको ट्रम्प प्रशासनले यूएसएडलाई छुट्टै सरकारी निकाय रहन दिनुभन्दा अमेरिकी विदेश मन्त्रालयमा गाभ्न सक्छ।
यो नौलो घटना भने हैन। सन् २०२० मा यूकेका तात्कालिक प्रधानमन्त्री बोरिस जोन्सनले त्यहाँको डिपार्टमन्ट अफ इन्टरन्याश्नल डेभलप्मन्टलाई विदेश मन्त्रालयमा गाभेका थिए।
यूएसएड बन्द भए त्यसको के असर पर्ने छ ?
अमेरिकाबाट प्राप्त हुने असङ्गत सहायता रकम हेर्दा त्यसको खर्च गर्ने तरिकामा आउने जुनसुकै परिवर्तन निस्सन्देह विश्वभरि महसुस गरिने छ।
युक्रेनका घाइते सैनिकहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराउनेदेखि, भूमिगत विस्फोटक पदार्थहरू हटाउने र अफ्रिकामा इबोला भाइरसको सङ्क्रमण रोक्नेसम्मका काममा यूएसएड संलग्न रहँदै आएको छ। यसको असर साँच्चै नै विश्वभरि पर्ने छ।
विदेशमा ९० दिनसम्म वैदेशिक सहायता निलम्बन गर्ने घोषणापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले खर्च हुने ‘प्रत्येक डलर’ ले अमेरिका सुरक्षित, सुदृढ र अझ समृद्ध हुने कुरा प्रमाणले ‘पुष्टि’ गर्नुपर्ने बताए।
डेमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्पको कदमलाई गैरकानुनी भनेका छन् र राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने बताएका छन्। सो क्रममा उनीहरूले सिरियामा इस्लामिक स्टेटका लडाकुहरू भएका कारागारको सुरक्षा हेरिरहेकाहरूले अमेरिकी सहायता रोकिएपछि झन्डै काम छोड्नुपरेको रिपोर्टलाई उद्धृत गरेका छन्।
ट्रम्पले वैदेशिक सहायतामा गरिने खर्च ‘अमेरिका पहिला’ भन्ने नीतिसँग मेल खाने गरी भएको हुनुपर्ने स्पष्ट पारेका छन् र अन्तर्राष्ट्रिय विकास कार्यक्रमले थप आघात खप्नुपर्ने छ।
ट्रम्पबाट नियुक्त इलोन मस्कले सरकारी बजेटबाट अर्बौँ डलर कटौती गराउने प्रयास गरिरहँदा अमेरिकाले आगामी वर्षहरूमा वैदेशिक सहायतामा कति खर्च गर्छ भन्नेबारे प्रश्न उठेका छन्। बीबीसीबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया