नेपालले नेदरल्यान्ड्लाई दियो १४६ रनको चुनौती

काठमाडौं, २३ माघ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससामु १४६ रनको चुनौती प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४५ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि पूजा महतो ६२ रनमा अविजित रहिन् । पूजाले ५१ बलमा ५ चौका प्रहार गरिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षत्रीले २० रनको योगदान दिए । इन्दुले ३७ बलमा पाँच चौका प्रहार गर्दा १७ बल खेलकी रुविनाले ३ चौका प्रहार गरेकी थिइन् ।
कविता जोशी भने ७ रनमा अविजित रहिन् । ६ बल खेलेकी कविताले एक छक्का प्रहार गरिन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ तथा कारोलिन डी लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।
नेपाल लगातार चार खेलमा हार व्यहोर्दै प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग दुई-दुई खेलमा पराजय भोगेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया