आमाबुवाले गरेको गल्तीका कारण निर्दोष दुई बालबालिका कारागारमा

दैलेख, ३० माघ । आमाबुवाले गरेको गल्तीका कारण निर्दोष दुई बालबालिका कारागारमा बस्नु परेको छ । बुवाआमाले बहुविवाह गरेपछि उनीहरूबाट जन्मिएका दुई सन्तान कारागारमा बस्नु परेको हो । जिल्ला कारागार दैलेखका अनुसार एक महिला कैदीबन्दी र एक थुनुवा महिलाका बालबालिका आमासँगै कारागारमा बस्नु परेको छ । जिल्ला कारागार प्रमुख लुना गिरीले बहुविवाह मुद्दामा जिल्ला अदालतबाट फैसला भएका दुई महिला कैदीबन्दीका नाबालक आमासँगै बसेको बताइन्
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ की खजुरा नेपाली २०८० कात्तिक १ गते थुनामा परेकी थिइन् । जिल्ला अदालत दैलेखले बहुविवाह मुद्दामा एक वर्ष सात महिना कैद सजाय सुनाएको थियो । उनकी एक वर्षकी छोरी छन् । उनका श्रीमान् रमेश नेपालीलाई समेत एक वर्ष सात महिना कैद सजाय सुनाइएको छ ।
दुल्लु नगरपालिका–३ की तारा शाही पनि बहुविवाह मुद्दामा २०८१ पुस २९ गते थुनामा परेकी छिन् । उनको २० महिनाको छोरा छन् । प्रहरीले जाहेरीका आधारमा उनका श्रीमान् राजेन्द्र महतलाई पनि पक्राउ गरी जिल्ला अदालत दैलेखमा मुद्दा चलाएपछि थुनुवाका रूपमा जिल्ला कारागारमा पठाएको हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरूलाई कारागारमै राखिएको कार्यालय प्रमुख गिरीले जानकारी दिए। उनले बहुविवाह मुद्दामा आएका उनीहरूको सजायको कैद भुक्तान गरिसकेपछि मात्र बालबालिका उनीहरूसँगै घर जाने बताए ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया