नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2025/02/Transmission_line.jpg)
काठमाडौं । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयातरनिर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय गरेको छ ।
नयाँदिल्लीमा बसेको पीईसी बैठकले सन् २०२५ मा १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट १२ रुपैयाँ ९६ पैसा तय गरेको हो । सन् २०२४ मा १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट १२ रुपैयाँ ७७ पैसा थियो ।
यस्तै बैठकले ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट दर १४ रुपैयाँ ४ पैसा र ११ केभी प्रसारण लाइनमार्फत आयातरनिर्यात हुने बिजुलीको प्रतियुनिट दर १५ रुपैयाँ ५ पैसा तोकेको छ । नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
त्यस्तै टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ ।
यसैगरी सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया