गृहमन्त्री रमेश लेखकका विरुद्धकाे षड्यन्त्र खुलासा
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2025/02/ramesh_lekhak_joNZj01S4T.jpg)
समयबद्ध अनलाइनमा गत हप्ता प्रकाशित “डलरवादीको प्रहारको निशानामा गृहमन्त्री रमेश लेखक” शीर्षक समाचारले थप पुष्टि पाएको छ । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो क्लिपले ‘दलित अभियन्ता’ खगेन्द्र सुनारको नाङ्गो वास्तविकता उजागर गरिदिएको छ । उक्त अडियो क्लिपले स्पष्ट रूपमा देखाउँछ कि खगेन्द्र कुनै शक्तिबाट परिचालित भई नियोजित रूपमा गृहमन्त्रीविरुद्ध षड्यन्त्र रच्दै थिए ।
सरकारी निकायसँग गएर कसरी निहुँ खोज्ने र आफ्नो गतिविधिहरू योजनाबद्ध रूपमा अघि बढाउने विषयमा खुलेर छलफल गरेको आवाज क्लिपमा स्पष्ट सुनिन्छ । यहाँसम्म कि निषेधित क्षेत्रमा जबर्जस्ती प्रवेश गरेर प्रहरीद्वारा पक्राउ पर्नेसम्मको रणनीति पहिले नै तय भइसकेको थियो ।
कांग्रेसभित्र शालीन नेता भनेर चिनिने गृहमन्त्री रमेश लेखक अहिले डलरवादीहरूको प्रहारको निशानामा परेका छन् ।
समाजलाई ध्रुवीकृत गर्ने रणनीतिअन्तर्गत उनीविरुद्ध सुनियोजित रूपमा षड्यन्त्र बुनिएको देखिन्छ । यो स्पष्ट हुन्छ कि खगेन्द्रको ‘अभियान’ कुनै न्यायपूर्ण आन्दोलन होइन, बरु सस्तो लोकप्रियता कमाउने र यसबाट कुनै न कुनै लाभ लिने गुरूयाेजना मात्र हो ।
उनले सामाजिक न्यायको नाममा नियोजित रूपमा सनसनी फैलाएर गृहमन्त्रीलाई लक्षित गरेको यो खुलासाले उनका वास्तविक नियतमा गम्भीर प्रश्न उठाउँछ ।
पछिल्ला केही वर्षदेखि समाजमा सस्तो लोकप्रियताका लागि विभिन्न मुद्दाहरू उछाल्ने प्रवृत्ति तीव्र रूपमा हावी भइरहेको छ । राजनीतिक दलहरूप्रति फैलिएको निराशालाई अवसर बनाएर आगोमा घिउ थपेर चर्चा कमाउने मानसिकता नै यसको मूल जड हो ।
तर, समाजले अब बिर्सनु हुँदैन कि यस्ता कथित अभियन्ताहरूको वास्तविक उद्देश्य के हो ? उनीहरूको गतिविधि साँच्चीकै सामाजिक न्यायका लागि हो कि बाह्य शक्तिबाट निर्देशित अराजकता फैलाउने गम्भीर षड्यन्त्रको एउटा हिस्सा मात्र हो ?
कतिपय यस्ता अभियन्ताहरू विदेशी स्रोतबाट डलर हात पार्दै समाजमा अशान्ति र द्वन्द्व निम्त्याउन सक्रिय देखिन्छन् । नेपाली समाजलाई प्रयोगशाला बनाएर स्वार्थसिद्ध गर्न खोज्ने डलरमुखीहरू को–को हुन् ? कुन शक्तिले ती अभियन्ताहरूलाई परिचालित गरिरहेको छ ? यी प्रश्नहरूको स्पष्ट उत्तर खोज्न अब कुनै ढिलाइ गर्नु हुँदैन ।
सरकार अहिले सबै जिल्लामा क्रियाशील गैरसरकारी संस्था (INGO) हरूको खर्च विवरण मागिरहेको छ । यी संस्थाहरूको बजेट वास्तवमै सामाजिक उत्थानका लागि प्रयोग भइरहेको छ कि समाजलाई ध्रुवीकृत गर्ने रणनीतिमा खर्च भइरहेको छ भन्ने यथार्थ अब बाहिर आउनुपर्छ ।
समाजलाई भ्रममा पारेर राजनीतिक रूपमा अस्थिर बनाउने योजनाका पछाडि को–को छन् भन्ने कुरा यथाशीघ्र छानबिन हुनुपर्छ । यदि कुनै अभियन्ता वा संस्था विदेशी शक्तिबाट परिचालित भई समाजमा अराजकता फैलाउने खेलमा संलग्न छन् भने तिनलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन । सरकारलाई अस्थिर पार्ने, जातीय द्वन्द्व भड्काउने र समाजलाई बिखण्डन गर्ने यस्ता तत्वहरूलाई जति सक्दो चाँडो निस्तेज गर्नु जरुरी छ ।
लोकतन्त्रको आडमा स्वार्थपूर्ति गर्ने, देशलाई कमजोर बनाउने र समाजलाई टुक्राटुक्रा पार्ने तत्वहरूलाई अब थप सहन गर्ने स्थान छैन । यस्ता प्रवृत्तिहरू लोकतन्त्रको वास्तविक अर्थ र मूल्यलाई मात्र कमजोर पार्दैन, बरु देशको सामाजिक र राजनीतिक संरचनामा अनियंत्रित अशान्ति र द्वन्द्वको वातावरण सिर्जना गर्दछ ।
अहिलेको परिस्थितिमा समाजले वास्तविक र नियोजित आन्दोलनबीच स्पष्ट भिन्नता बुझ्न आवश्यक छ । राजनीतिक स्वार्थका लागि गरिएको नाटकलाई सामाजिक न्यायको नाम दिनु सर्वथा गलत हो । सरकार र जनता दुबै सतर्क रहँदै यस्ता अराजक गतिविधिहरूको पर्दाफास गरी समाजलाई बिखण्डन गर्न खोज्ने तत्वहरूलाई समयमै रोक्न जरुरी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया