कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

फुङ्लिङ (ताप्लेजुङ), ५ फागुन । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।
गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।
म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई दुई लाख आठ हजार ५८६, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ तथा तेस्रो हुनेलाई ८५ हजार ५८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरेडाँडा, झण्डेडाँडा, सिन्दुरे ढङ्गा, तुप्लुङ, दुण्डुडाँडा, ढाउँ चौक, भेडी चोकहुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइकलिङ कार्यक्रम पनि आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा रहेको छ । रासस
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया