Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न


काठमडौं, ७ फागुन । श्री रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुकासाथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरुका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरे । सोही अवसरमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिन्। कार्यक्रममा प्रधान सेनापति महारथी सिग्देल तथा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलबाट संयुक्त रूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदमको विमोचन गरे ।

बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले गत फाल्गुण ०४ गते समुद्‍घाटन गरेको उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल २५ वटा विद्यालयका ३९ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो । रिपुमर्दिनी सैनिक महाविद्यालयले वि.सं. २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो पाँचौँ संस्करण हो । प्रदर्शनीको विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणले अवलोकन गरेका थिए ।

समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, अधिकृत, शिक्षकवर्ग तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास लिइएको जनाइएको छ ।

 


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


ताजा अपडेट