Techie IT
Samayabaddha
शुक्रबार, ९ फागुन, २०८१

नेपालमा सिमेन्ट मूल्यवृद्धि: निर्माताको तर्क र उपभोक्ताको पीडा


काठमाडौं । हाल नेपालमा सिमेन्टको मूल्य निरन्तर रूपमा बढिरहेको छ, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लागत बढेको छ तथा सर्बसाधारण उपभोक्ताहरूलाई ठूलो आर्थिक बोझ परेको छ। यसरी सिमेन्टको मूल्य बढ्नुमा के कस्ता रहस्यहरु छन् हामीले त्यसको खोजी गर्दा केही तथ्यहरु फेला परेका छन् ।

विभिन्न उद्योगी तथा सरोकारवालाहरूले सिमेन्टको मूल्य वृद्धिको कारणबारे फरक–फरक दृष्टिकोण राख्दै आएका छन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मरुले सिमेन्टको मूल्य वृद्धिलाई ‘मूल्य समायोजन’ भन्दै अघिल्ला वर्षहरूमा उद्योगहरूले व्यहोरेका घाटालाई पूर्ति गर्ने उपायको रूपमा देखाएका छन्। तर, उपभोक्ताहरू तथा निर्माण व्यवसायीहरूले यो मूल्य वृद्धिलाई नियन्त्रित बजार व्यवस्थापन तथा नाफामुखी गतिविधिका रूपमा व्याख्या गरेका छन्।

नेप्सेमा सुचिकृत पब्लिक लिमिटेड सिमेन्ट उद्योगहरूको वित्तीय विवरण

सिमेन्ट उत्पादक संघका अध्यक्षको दाबीलाई परीक्षण गर्ने हो भने, नेपालका केही सार्वजनिक रूपमा सूचीबद्ध सिमेन्ट कम्पनीहरूको वित्तीय विवरणको फरक तथ्य देखाउँछ।

१. शिवम् सिमेन्ट: आर्थिक वर्ष २०७९/८० मा ३० करोडभन्दा बढी नाफा र २०८०/८१ मा २५ करोडभन्दा बढी नाफा।

२. सर्वोत्तम सिमेन्ट: २०७९/८० मा २० करोडभन्दा बढी नाफा र २०८०/८१ मा १७ करोडभन्दा बढी नाफा।

३. घोराही सिमेन्ट: २०७९/८० मा ५ करोडभन्दा बढी नाफा तर २०८०/८१ मा १ अर्बभन्दा बढी घाटा। यस वर्ष कम्पनीले १९ अर्बभन्दा बढी सम्पत्ति, जग्गा र उपकरण खरिदमा लगानी गरेको देखिन्छ, जुन अघिल्लो वर्ष मात्र ६ अर्ब ६० करोड थियो।

४. सोनापुर सिमेन्ट: २०८०/८१ मा ४६ करोड घाटा। सरकारी नियमअनुसार आईपीओमा आउने कम्पनीले लगातार तीन वर्ष नाफामा हुनुपर्ने प्रावधान हुनुपर्छ । नेप्सेमा सुचिकृत हुनलाई तीन वर्षसम्म नाफामा रहेका कम्पनीहरु सुचिकृत भएपछि घाटा देखिनु शंकास्पद छ ।

उक्त तथ्यांक हेर्दा, सिमेन्ट उत्पादक संघका अध्यक्षको दाबी सबै कम्पनीहरूमा लागू नहुने देखिन्छ। केही सिमेन्ट उद्योगहरूले अघिल्लो वर्षहरूमा नाफा गरेको देखिन्छ, भने केही उद्योगहरूले घाटा व्यहोरेका छन्।

सिमेन्टको मूल्य वृद्धिको अवस्था

चार महिनाअघि मात्र OPC सिमेन्टको मूल्य प्रति ५० केजी बोरा रु. ३५० र PPC सिमेन्टको मूल्य रु. ४५० थियो। हाल यी मूल्यहरू दोब्बरभन्दा बढी वृद्धि भइसकेका छन्। यो मूल्य वृद्धि ठ्याक्कै त्यही समयमा भएको छ जब नेपालमा निर्माण कार्यहरू तीव्र गतिमा सञ्चालन हुने गर्दछन्। विगतका वर्षहरूमा पनि यस्तै मूल्य वृद्धिको प्रवृत्ति देखिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघले सधैँ नै यस विषयमा गुनासो गर्दै आएको छ, किनकि यसले निर्माण लागतलाई उच्च बनाउने र उपभोक्ताहरूलाई आर्थिक भार पार्ने गर्दछ।

सिमेन्टको कच्चा पदार्थ मूल्य र आपूर्तिको अवस्था

सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थहरू नेपालमै प्रशस्त पाइन्छन्। तिनीहरूको मूल्यमा आएको परिवर्तन हेर्दा निम्न तथ्य बाहिर आउँछन्:

१. चुनढुंगा (Limestone): नेपालमा चुनढुंगा पहाडमै उपलब्ध छ, जसले खानी उत्खननलाई तुलनात्मक रूपमा सहज बनाउँछ। भारतमा भने यो माटोमुनिबाट निकाल्नुपर्ने हुन्छ, जसले उत्पादन लागत महँगो बनाउँछ। नेपालको सन्दर्भमा चुनढुंगाको लागत तुलनात्मक रूपमा कम रहेको छ।

२. कोइला (Coal):

३. २०२२ मा प्रति मेट्रिक टन रु. ४०,००० थियो।

४. २०२५ मा घटेर रु. १५,००० प्रति मेट्रिक टनमा आएको छ।

५.  क्लिङ्कर (Clinker): नेपालमा करिब २१ सिमेन्ट कम्पनीहरूले मात्र क्लिङ्कर उत्पादन गर्छन्, जबकि ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन्। ठूलो उद्योगहरूले क्लिङ्करको मूल्य वृद्धि गरेर साना सिमेन्ट उत्पादकहरूलाई उच्च मूल्यमा किन्न बाध्य बनाउने प्रवृत्ति रहेको छ। केही महिना अघि मात्र प्रति मेट्रिक टन रु. ५८०० रहेको क्लिङ्कर अहिले रु. ९५०० पुगेको छ।

उद्योगको गुनासो: विद्युत् आपूर्तिको अस्थिरता

नेपालका सिमेन्ट उद्योगहरूले लोडसेडिङका कारण उत्पादन लागत बढेको गुनासो गर्दै आएका छन्।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई आवश्यक बिजुली उपलब्ध नगराएको, नियमित लोडसेडिङको मारमा पारेको र यसका कारण उत्पादन लागत बढेको भन्दै उद्योगहरूले असन्तोष व्यक्त गरेका छन्। उनीहरूको दाबी अनुसार:

  •  उद्योगहरूमा दैनिक ६ घण्टासम्म लोडसेडिङ हुँदा उत्पादनमा असर परेको छ।
  •  लोडसेडिङ हुँदा डिजेल जेनरेटर प्रयोग गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको छ।
  •  नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई पूर्ण रूपमा बिजुली नदिएर भारतलाई बिजुली निर्यात गरेर मुनाफा लिने नीति लिएको आरोप।

तर, आम उपभोक्ताहरूले यो तर्कलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन्। उपभोक्ताहरूका अनुसार विद्युत् आपूर्तिको अस्थिरताले केही असर गरे पनि मुख्य रूपमा मूल्य वृद्धिको कारण नियन्त्रित बजार र मुनाफामुखी रणनीति नै रहेको तर्क गरिएको छ।

निष्कर्ष

नेपालमा सिमेन्टको मूल्य वृद्धिले निर्माण क्षेत्रलाई ठूलो असर पारेको छ। उद्योगहरू उत्पादन लागत वृद्धिको कारण मूल्य समायोजन गर्नुपरेको बताउँछन् भने उपभोक्ताहरू यो कृत्रिम रूपमा गरिएको मूल्य वृद्धि भएको ठान्छन्। सिमेन्ट उद्योगहरूमा लोडसेडिङको समस्या, कच्चा पदार्थ मूल्यमा आएको परिवर्तन, क्लिङ्कर आपूर्तिमा रहेका समस्या, र सरकारी नीतिहरूले निर्माण क्षेत्रलाई थप महँगो बनाएको देखिन्छ।
नेपाल सरकार, उपभोक्ता हित संरक्षण समिति, तथा उद्योग महासंघबीच यस विषयमा विस्तृत छलफल गरी दीर्घकालीन समाधान खोजिनु आवश्यक छ। निर्माण क्षेत्रमा स्थिरता ल्याउन सिमेन्ट उद्योगहरूले पारदर्शिता अपनाउनु पर्ने देखिन्छ भने सरकार तथा नियामक निकायहरूले मूल्य नियन्त्रण तथा बजार अनुगमनमा थप सक्रियता देखाउन आवश्यक छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट