गएको आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजना/कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन स्वीकृति

काठमाडौं : सरकारले गएको आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले पुलको मर्मत–सम्भारका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धमा सम्झौता र कार्यक्रमको दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ ।
त्यसैगरी बैठकले २०८० साल वैशाख १ गतेयताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै फागुन १८ देखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया