युक्रेनले दुर्लभ खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने

युक्रेनले दुर्लभ खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने भएको छ । अमेरिकासँग दुर्लभ खनिज सम्झौताको सर्तहरू पूरा भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
युरोप र युरो–एट्लान्टिक एकतासम्बन्धी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले सबै प्रमुख विषयहरू टुङ्गिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग रहेको युक्रेनको दाबी छ । त्यसमा एक करोड ९० लाख टन ग्राफाइट पनि समावेश छ । युक्रेनको भूगर्भ सर्वेक्षण निकायले यो खनिजको आपूर्तिमा युक्रेन विश्वमै प्रमुख पाँच देशमध्ये पर्ने बताएको छ ।
ग्राफाइट विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री बनाउन प्रयोग हुने गर्छ । युक्रेन लिथिअमको भण्डारणमा पनि युरोपमै तेस्रो धनी देश हो । युक्रेनमा आक्रमण गर्दै आएको रुसले समेत कतिपय खनिज भण्डारहरू कब्जा गरेको छ ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र रुसको कब्जामा रहेको युक्रेनी भूभागमा रहेका दुर्लभ खनिजमाथि अमेरिकालाई पहुँच खुलाउने प्रस्ताव गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि बारम्बार आर्थिक सहायताको बदलामा उसको दुर्लभ खनिज दिन दबाब दिँदै आएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया