Techie IT
Samayabaddha
बुधबार, १४ फागुन, २०८१

आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै


काठमाडौं । आज महाशिवरात्रिको दिनमा सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभरि धुमधामका साथ मनाइँदै छ । तर यस वर्षको शिवरात्रीमा पशुपति क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

महाकुम्भ मेलामा जम्मा भएका सन्त साधुहरु यसवर्ष पशुपतिमा दर्शन गर्न आउने अनुमानका कारण पनि यस वर्षको शिवरात्री विशेष हुने अनुमान पशुपति क्षेत्र विकास समितिले गरेको छ । यस वर्ष पशुपतिमा करिब १० हजारको हाराहारीमा साधुबाबाहरू आउने अनुमान छ । र त्यसै अनुसारको तयारीमा लागेको क्षेत्र विकासका अधिकारीहरु बताउँछन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यो दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्छन् ।

शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । युवाहरु माझ शिवरात्री पर्वको परम्परालाई मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुको सेवनमा केन्द्रित देखिएको छ । यस पर्वमा हुने विकृति र विसङ्गतिबारे आवाज उठ्ने गरे पनि यी समस्याको निराकरणका लागि यथेष्ट पहल हुन सकेको छैन । यस वर्ष महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१ गठन भई सो मूलसमिति अन्तर्गत नौ वटा विभिन्न विषयगत समिति गठन भएको पशुपति विकास कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्रसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट