Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

तम्घास बजारका फुटपाथ व्यवसायीको सामान नगरपालिकाले उठायो


तम्घास, १६ फागुन । तम्घास बजारका सडकपेटीमा फुटपाथ गर्ने पाँच अटेरी व्यवसायीलाई कारवाही गरिएको छ । पटक पटक सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामग्री नराख्न आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर कारवाही गरिएको रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए । एक जना व्यापारीलाई दुई हजार रुपियाँ र चार व्यापारीको सामान जफत गरिएको उनले बताए ।

यसका साथै एक सयभन्दा बढी फुटपाथ व्यवसायीलाई सडकपेटीभन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामग्री नराख्न आग्रह गरिएको र एक हप्तापछि पुनः अनुगमन जाँदा यही अवस्था देखापरेमा कारवाही गरेरै छाड्ने खनालले चेतावनी दिए ।

फुटपाथ व्यवसायीले गर्दा ट्राफिक व्यवस्थापनका साथै पैदल यात्रीलाई असहज बनाएकाले फुटपाथका सामग्री हटाएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान तोकेको छ । तोकिएको स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगरप्रमुख प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य, चेम्बर अफ कमर्स र उद्योग सङ्घ गुल्मीलगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम चाल्न बाध्य भएको बताए ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट