ट्रम्प र जेलेन्स्कीबीच मतभेद, रुससँग कुनै सम्झौता नहुने युक्रेनको प्रतिक्रिया

महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ ।
ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेको जेलन्स्कीले आरोप लगाएका छन् । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गरेका खबरमा उल्लेख छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन गरेकोप्रति जेलेन्स्कीले खण्डन गरेका थिए । जेलेन्स्कीले पुटिनसँग कुनै सम्झौता हुन नहुने बताएका छन् ।
भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिएका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया