संघीय संसद् सचिवालयले पत्रकारको पास निलम्बन गरेकोप्रति पत्रकार महासंघको ध्नाकर्षण

काठमाडौं, २१ फागुन । प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको थियो ।
महासंघले आज जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’
साथै, महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : समाचार, साहित्य
प्रतिक्रिया