धरानमा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रण, एक जना पक्राउ

धरान, २२ फागुन। धरान उपमहानगरपालिकामा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसार–पोसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्न खोज्दा भरिया भारी छोडेर भागेका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई र ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लाष्टिक बाहेक दुई सय २५ केजी गाँजा समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । फरार व्यक्तिको खोजी भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया