एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा झा र खनाल दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको छ । न्यायाधीशहरु टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ ।
अदालतले झा र खनालसहित न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई १ वर्ष कैद सजाय र दामासही रूपमा जनही ५ करोड ८० लाख रुपैयाँका दरले कुल २३ करोड २० लाख रुपैयाँ बिगो जरीवाना भराउने फैसला गरेको हो ।
झा र खनाल संस्थाको प्रमुख भएको हुँदा थप एक महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० खरिदमा अनियमितता गरेको आरोपमा झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
उनीहरुविरुद्ध अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
प्राधिकरणले भन्सार छलेर ल्याइएका मोबाइल निष्क्रिय बनाउने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेर २ अर्ब २५ करोड रुपैयाँले बढी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
यस मुद्दामा १२ जनाले सफाइ पाएका छन् भने ५ जना प्रतिवादीहरुको हकमा आरोप दाबी पुग्न नसक्ने विशेष अदालतले व्याख्या गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया