काठमाडौंको चन्द्रागिरीस्थित कवाड कारखानामा लागेको आगो ७ वटा दमकलबाट नियन्त्रण

काठमाडौं, २३ फागुन । काठमाडौंको चन्द्रागिरीमा कवाड कारखानामा आगलागी भएको छ।
चन्द्रागिरि नगरपालिका १० बोसीगाउँस्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिएर सोही स्थानका पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारले सञ्चालन गरेको आर.एम. बि प्लाष्टिक प्याकेजिङ हाउसमा गएराति १ः२० बजे आगलागी भएको थियो।
मध्यरातमा लागेको आगो बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
आगो निभाउनका लागि ७ वटा दमकल र १५ वटा पानी ट्यांकर पठाइएको थियो।
चन्द्रागिरि नगरपालिका, विशाल बजार वारूण यन्त्र, बालाजुको बारूण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बुढानीलकण्ठबाट दमकल बोलाइएको थियो।
आगो निभाउन नेपाल प्रहरीका ३२ जना, सशस्त्र प्रहरीका १० जना स्थानीय परिचालित भएका थिए।
सात वटा दमकलबाट पाँच घन्टामा आगो नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए। आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया