फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार

काठमाडौं । फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो ।
एशियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान एक सय ७१औं स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ । तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया