Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा


काठमाडौं । आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा छिटपुट वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि मौसमी नयाँ प्रणाली भित्रिने मौसमविद्को अनुमान छ । यसले वर्षा र हिमपात गराउन सक्ने पूर्वानुमान छ । देशको पश्चिमी क्षेत्रबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागसम्म बदली गराउने सम्भावना छ ।

आउँदो चैत एक गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको जलवायुका विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।

यसैबीच पर्याप्त वर्षा नहुँदा काठमाण्डौ उपत्यकाको वायु प्रदूषण बढेको छ । देशका उच्च पहाडी र हिमाली भेगका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपात भए पनि प्रदूषण हट्ने गरी वर्षा नहुँदा प्रदूषण हट्न अझै केही दिन लाग्ने छ ।

त्यस्तै काठमाडौं आज विश्वकै पाँचौँ वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यूएअरका अनुसार काठमाण्डौको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ ।

भियतनामको हनोई प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँको वायु प्रदूषण २१० एक्यूआई मापन गरिएको छ । चीनको बेइजिङ दोस्रो स्थानमा छ । त्यस्तै बङ्गलादेशको ढाका तेस्रो र छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली चौथो स्थानमा छ । ५० एक्यूआई भन्दामाथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट