एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

सुनसरी । जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी, एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको संलग्नता फेला परेको छ । दुहबी नगरपालिका वार्ड नम्बर ३ स्थित कि.नं.८, ३२८, ३२९ को क्रमशः ०–११–१५, ०–१–१६ र ०–१–१.५ क्षेत्रफलका जग्गामा किर्ते कार्य भएको खुलासा भएको छ ।
लक्ष्मण भनिने लक्षम माझीले लागत फारम भर्दा दीपबहादुर काजीलाई जग्गाधनी देखाइ २ नं. अनुसूची प्रकाशित गराएका थिए । तर, सर्वे नापीपछि कि.नं. २२ र २५ को जग्गा रुक्मिणी थापा र रणकुमारी थापाका नाममा दर्ता भयो । उल्लेखनीय छ कि यी दुबै महिला दीपबहादुर काजीकै एकाघरका श्रीमती र आमा थिए ।
दीपबहादुर काजीको यो जग्गा विभिन्न व्यक्तिहरूले अधियाँमा जोतभोग गर्दै आएका थिए । लक्षम माझी र उनकी पत्नी निरक्षर थिए, जसले भर्पाइ लिन सकेनन् । २०२५ सालमा उनीहरूको मृत्यु भएपछि उनका छोरा ढालिया थारुको पनि २०४८ साल माघ १६ गते निधन भयो । त्यसपछि नाति जियाराम चौधरीले उक्त सम्पत्तिमा आफ्नो हक दाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए ।
अदालतमा विवाद, प्रभावशालीहरूको संलग्नता
२०७५ साल चैत्र २२ गते भूमि सुधार कार्यालय सुनसरीले नापजाँच गर्दा कि.नं. २२ र २५ मा मोही महल खाली रहेको निष्कर्ष निकाले । जसका आधारमा उक्त जग्गा रणकुमारी र रुक्मिणी थापाको नम्बरी जग्गा भनी तोकियो । जियाराम चौधरीले यसको विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे । अदालतले पनि जग्गाधनी पक्षकै पक्षमा फैसला ग-यो ।
तर, स्थलगत अध्ययन र २०२२ सालको मालपोतको ढड्डा तथा कागजातहरूका आधारमा लक्षम चौधरीको मोहियानी हक रहेको प्रमाण भेटिएको छ । तर, तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख सूर्यबहादुर थापा, प्रकाश मुन्द्रा र एनआईसीका अध्यक्ष तुलसीराम अग्रवालको मिलेमतोमा फिल्डबुकमा किर्ते गरिएको खुलासा भएको छ । उनीहरूले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाउने कार्य गरेको देखिन्छ ।
यसपछि उच्च अदालतमा किर्ते कागजात पेश गरी फैसलामा समेत प्रभाव पारिएको आरोप छ । हाल उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गरी प्रयोग भइरहेको छ ।
न्यायको खोजी
जियाराम चौधरीले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । उनले उक्त जग्गा विवादमा संलग्न व्यक्तिहरूको छानबिन र कारबाहीको माग गरेका छन् । उनले प्रस्तुत गरेका प्रमाणहरूले २०२२ साल भदौ २९ गते लक्षम चौधरीलाई मोहियानी हक दिइएको देखाउँछ । जसले किर्ते कार्यको पुष्टि गर्छ । यसबारेमा एनआईसी, एसियाका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा पञ्छिए ।
यस घटनाले भूमिसम्बन्धी ठगी तथा शक्तिको दुरुपयोगको गम्भीर समस्या खुलासा गरेको छ । अब सम्बन्धित निकायहरूले यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउला त भन्ने प्रश्न उठेको छ । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया