श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउने प्रतिबद्धता

काठमाडौं । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउन आवश्यक रणनीति,कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सम्पन्न भएको छ ।
काठमाण्डौमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले रोजगार प्रवर्द्धन दशकलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने, दशकको क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयनमा लैजाने घोषणापत्रमा उल्लेख छ ।
सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम् एवम् उदीयमान क्षेत्रहरूमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवद्र्धन गरिने, श्रम बजारको मागका आधारमा सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय एवम् सहकार्य गरिने पनि सम्मेलनले निष्कर्ष निकालेको छ ।
औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता, सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै, प्रतिबद्धतामा प्रभावकारी श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्न नीतिगत तथा कानूनी सुधार गरिने उल्लेख छ ।
नेपालमा रहेको अनौपचारिक क्षेत्रका श्रमिकलाई तोकिएबमोजिमको न्यूनतम परिश्रमिक र लैङ्गिक समानता सुनिश्चित हुनेगरी क्रमशः औपचारिक क्षेत्रमा ल्याउन नीतिगत सुधार एवम् कार्यक्रम सञ्चालन गरिनेछ ।
आन्तरिक रोजगारीका अवसर सिर्जना गरेर आर्थिक समृद्धिलाई अगाडि बढाउने तथा त्यसका लागि उपयुक्त नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनका लागि नीति पृष्ठपोषण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।
सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहभागिता रहेको सम्मेलनको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा आव २०८२/८३–२०९१/९२ लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरिएको थियो ।
सम्मेलनमा सम्बन्धित विषयको सीप तालिम तथा रोजगारी प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र विभिन्न १० वटा रोजगारदाता संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सम्मेलनमा आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्द्धन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विविध आयाम, सूचना प्रविधिको विकासमा नेपालको सम्भावना र रोजगारी सिर्जना, वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा प्रयोगलगायत विषयमा सामूहिक छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया