माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ४ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका १ घर भई ललितपुर गोदावरी नगरपालिका ३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका ६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका ८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।
पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका ४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका २८ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया